इटहरी : मारवाडी सेवा समिति इटहरीको अध्यक्षमा श्यामसुन्दर अग्रवाल (डोकानिया) निर्वाचित भएका छन्। मंगलबार इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा सम्पन्न नवौँ साधारण सभामा अग्रवालले अन्य दुई प्रतिस्पर्धीलाई पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन्।
अध्यक्ष पदमा निर्वाचित श्यामसुन्दर अग्रवालले १२५ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी प्रवीण विहारी खेतानले ३ मत र प्रदीपकुमार सन्थालियाले ८५ मत ल्याए। समितिका कुल ३१० मतदातामध्ये २५२ जनाले मतदान गरेका थिए। तीमध्ये ३९ मत बदर भएको निर्वाचन समितिले जनाएको छ।
निर्वाचित अध्यक्ष अग्रवालले आफ्नो कार्यकालमा सम्पूर्ण सदस्यबिच एकता र सहकार्यलाई प्राथमिकता दिने प्रतिबद्धता जनाए। उनले भने, “समितिलाई एक ढिक्का बनाएर सामाजिक सेवामा उदाहरणीय संस्था बनाउने सङ्कल्प लिएको छु।”
कार्यक्रमका प्रमुख अतिथि इटहरी उपमहानगरपालिका वडा नं. ६ का अध्यक्ष दिवस पोखरेलले देशको अर्थतन्त्रमा मारवाडी समुदायको महत्त्वपूर्ण योगदान रहेको उल्लेख गर्दै नयाँ नेतृत्वलाई बधाई तथा शुभकामना दिएका थिए।
shyam-nirwachit