- रुषा थापा
नेपालमा आन्दोलनको परम्परा लामो छ। तर दुर्भाग्य के छ भने, हरेक आन्दोलनले देशलाई अघि होइन, पछाडि धकेल्यो। परिवर्तनको नाममा जनताले बलिदान दिए, तर सत्ताको माला भने सधैं स्वार्थी वर्गले लगायो।
आज पनि यही चक्र दोहोरिएको छ- मुद्दा नबुझी आन्दोलनमा होमिने, अनि परिणाममा देशले क्षति भोग्ने। २०८० मङ्सिर ७ गते दुर्गा प्रसाईँले राजतन्त्र पुनःस्थापनाको नारा लिएर बल्खुमा आन्दोलन थाले। उनको एजेण्डा स्पष्ट थियो -“राजा फर्काऊ, राजतन्त्र ल्याऊ।” तर, त्यस आन्दोलनले जनजीविकाको सवाल उठाएन। त्यसपछि २०८१ चैतमा तीनकुनेमा भएको प्रदर्शनमा दुई जनाले ज्यान गुमाए।
त्यस्तै, २०८१ भदौ २३ र २४ गते जेनजी पुस्ताले देशव्यापी आन्दोलन गरे। सडकमा उत्रिएका युवाहरूले परिवर्तनको सपना देखे, तर दिशा थिएन।
७६ जनाको ज्यान गयो, हजारौं घाइते भए, कयौँ अङ्गभङ्ग र बेपत्ता भए।
तर आन्दोलनको मुद्दा के थियो भन्ने कुरा आजसम्म स्पष्ट छैन।
“केपी चोर, देश छोड” भन्ने नारा मात्र गुञ्जियो, तर देशका गम्भीर समस्या सीमाको मिचाइ, वैदेशिक ऋण, बेरोजगारी, किसान र मजदुरको पीडा आन्दोलनका मुद्दा बन्न सकेनन्।
नेपाल आज २९ खर्बभन्दा बढी ऋणमा डुबेको छ। निर्माण व्यवसायीको ४५ अर्ब, किसानको ७ अर्ब, अस्पतालको २४ अर्ब बक्यौता राज्यले तिर्न सकेको छैन। तर प्रसाईँ र जेनजी दुबै आन्दोलनले “विदेशी ऋण मिनाहा गर” वा “हाम्रो भूभाग फिर्ता ल्याऊ सरकार” भन्ने राष्ट्रियताका नारा दिएनन्। बरु उल्टो राज्यकै ढुकुटीमाथि थप भार पर्यो।
आन्दोलनमा मारिएकाका परिवारलाई सरकारले क्षतिपूर्ति दियो, घाइतेहरूको निःशुल्क उपचार गर्यो। यसमा अर्बौँ रुपैयाँ खर्च भयो।त्यसैबिच तोडफोड, आगजनी र लुटपाटबाट खर्बौंको सम्पत्ति खरानी बन्यो। नेपाल दशकौँ पछाडि फर्कियो, तर आन्दोलनको उपलब्धि के भयो ? केपी ओली गए र ७३ वर्षीया सुशीला कार्की प्रधानमन्त्री बनिन्। अब प्रश्न उठ्छ- युवाहरूको रगत सत्ताको सिँढी किन बन्छ ?
१३ देखि २८ वर्षका युवाहरू सडकमा मर्छन्, र सत्ता भने बुढापाकाको हातमा पुग्छ।
राज्यकै पेन्सन खाने पूर्वकर्मचारी प्रधानमन्त्री बनेपछि जनताले कुन नयाँ युगको अपेक्षा गर्ने ?
सुशासन आएन, शान्ति आएन, भ्रष्टाचार घटेन।
बरु संसद् विघटन भयो, फागुनमा पुनः चुनाव घोषणा भयो, जसले फेरि अर्बौंको खर्च बढाउनेछ।
****************
त्यो चुनावबाट के आउनेछ ?
उही पुराना दलहरू काँग्रेस, एमाले, माओवादी, जसको संगठन गाउँ–गाउँमा बलियो छ।
जेनजी पुस्तासँग न संगठन छ, न कार्यकर्ता।
त्यसैले परिवर्तनको नाममा फेरि पुरानै अनुहार सत्तामा पुग्ने निश्चित छ।
****************
यसबीच, जेनजी आन्दोलनको क्रममा सार्वजनिक र निजी सम्पत्तिमा तोडफोड गर्नेहरूलाई सरकारले कारबाही गर्न सकेको छैन।
बरु गृहमन्त्रीको निर्देशनमा पक्राउ परेकाहरूमाथि पनि मुद्दा खारेज गरियो।
कसैले सानो गल्ती गर्दा तुरुन्त सजायँ पाउने, तर खर्बौंको क्षति पुर्याउँदा पनि कानून मौन बस्ने यही दण्डहीनताले नागरिकलाई आक्रोशित बनाएको छ।
****************
यदि राज्यले अब पनि राष्ट्रिय सम्पत्ति ध्वस्त पार्ने र नागरिकको रगत बगाउनेहरूलाई कारबाही गर्न सकेन भने अर्को विद्रोह अनिवार्य हुनेछ।
तर त्यो विद्रोह पनि मुद्दा नबुझी, भावना मात्रमा आधारित भयो भने, परिणाम फेरि यही हुनेछ - जनताको ज्यान जाने, स्वार्थीहरू सत्तामा पुग्ने।
****************
दुर्गा प्रसाईंको राजतन्त्र पुनःस्थापनाको प्रयास पनि अब सम्भव छैन।
जेनजी आन्दोलनकै बेला त्यो अवसर थियो, तर पूर्वराजा ज्ञानेन्द्र फर्किएनन्।
अब समय र परिस्थिति फेरिएको छ।
त्यसैले प्रसाईंको आन्दोलन जतिसुकै ठूलो भए पनि राजतन्त्र फर्किने सम्भावना देखिँदैन।
****************
जेनजीहरूले अहिले प्रत्यक्ष निर्वाचित कार्यकारी, संघीयता र संविधान खारेजको माग गर्दैछन्।
तर त्यसका लागि संसद्को दुई तिहाई समर्थन चाहिन्छ, जुन सम्भव देखिँदैन।
त्यसैले, फेरि पनि जनतालाई भ्रममा राखिएको छ।
****************
यो आन्दोलनलाई उचाल्नेहरू सुशीला कार्की, बालेन्द्र साह, रवि लामिछाने, कुलमान घिसिङ सबै अहिले सत्ताको वरिपरि छन्।
तर उनीहरूकै उक्साहनमा हजारौं युवाले ज्यान गुमाए।
प्रधानमन्त्री कार्कीले आफू केही गर्न नसक्ने बताउँदै चुनावको तयारीमा लागेकी छन्।
अनि जब केही गर्न सकिँदैन भन्ने थाहा थियो, किन यत्रो ठूलो आन्दोलन उचालियो ?
नेपालको राजनीतिमा यो नयाँ कुरा होइन।
हिजो राजाले खाँदा काँग्रेस, एमाले, माओवादीले आन्दोलन गरे।
अब तिनै पार्टीले खाँदा जेनजीहरूले आन्दोलन गरे।
तर, सत्ताको फल फेरि पनि स्वार्थीहरूले नै टिपे।
देश र जनताको पक्षमा होइन, सत्ताको लालसामा आन्दोलन उठ्ने क्रम रोकिएन भने,
नेपालको भविष्य फेरि पनि अन्धकारमय हुनेछ।
****************
आन्दोलन तब मात्र अर्थपूर्ण हुन्छ, जब त्यसले जनताको जीवन, राष्ट्रको स्वाभिमान र न्यायको रक्षा गर्छ।
मुद्दा नबुझी, उक्साहनमा सडकमा निस्कने प्रवृत्तिले देशलाई फाइदा होइन, विनाश मात्र पुर्याउँछ।
हामीले अब भावना होइन, बौद्धिकता र विवेकसाथ आन्दोलनको अर्थ बुझ्नुपर्छ -
नत्र हरेक आन्दोलनले फेरि पनि जनताको रगत सत्ताको सिँढी बन्नेछ।