रमेश काफ्ले 

नेपाली साहित्यका महाकवि लक्ष्मी प्रसाद देवकोटा (१९६६-२०१६) बहु आयामिक व्यक्तित्व हुन् । देवकोटाले आफ्‌नो रचना मार्फत आफूलाई पूर्वीय र पाश्चात्य दुवै साहित्यको सङ्गमका रूपमा स्थापित गरेका छन् ।

उनको काव्य चेत अध्यात्म, करुणा, तर्क र आधुनिकताको सुन्दर मिलन भएको पाइन्छ । पूर्वीय दर्शनको आत्मा बोध र पाश्चात्य विवेकशीलताको संयोजन गर्ने स्रष्टाका रूपमा देवकोटाको योगदान नेपाली साहित्यको उज्यालो युगको प्रतीक बनिसकेको छ । देवकोटा संस्कृत र अङ्ग्रेजी दुवै भाषामा लेखिएका कृतिको गहिरो अध्येता हुन्।

उनले उपनिषद्, गीता, बौद्ध दर्शनका महत्त्वपूर्ण तत्त्वको बोध गरेका थिए। यिनै दर्शनबाट आर्जित ज्ञानलाई आधुनिक चेतना सँग जोड्दै कविताको माध्यमबाट आत्मज्ञान, कर्म र करुणाको सन्देश दिए। नेपाली शाकुन्तल, सुलोचना, सावित्री सत्यवान् जस्ता कृतिमा उनले पूर्वीय आदर्श र नैतिक दर्शनलाई काव्यको रूप दिएका छन् ।

जसले उनको अध्यात्म र विवेक बिच गहिरो सन्तुलन देखाउँछ । देवकोटामा पाश्चात्य चेतनाको गहिरो प्रभाव स्पष्ट देखिन्छ। पागल कवितामा उनले मानवतावादी दृष्टिकोण प्रष्टरुपमा व्यक्त गरेका छन्। यस कवितामा देवकोटाले समाजको कठोरपन र व्यक्तिको स्वतन्त्रताको बिचको दुन्दलाई उद्घाटित गरेका छन्।

म पागल छ किनभने म मानिस देख्छु, तिमी पशु देख्छौ भन्ने उनका शब्दहरूले अस्तित्ववाद र मानवीय करुणाको सार्वभौम सन्देश दिन्छन् । उनका निबन्ध तर्क र भावना तथा कला र जीवनमा विज्ञान र सौन्दर्य शास्त्रको गहिरो चर्चा छ। जुन चर्चाका कारण देवकोटा आधुनिक सोचका कवि हुन् भन्ने प्रस्ट पारेको छ ।

वि.सं. २००२ सालमा प्रकाशित नेपाली शाकुन्तल महाकाव्य उनको सबैभन्दा प्रयोगात्मक कृति मानिन्छ । पूर्वीय दर्शन र पुराणमा वर्णित कथालाई कालिदासले नाट्य कृति अभिज्ञान शाकुन्तलम तयार पारे पनि देवकोटाले त्यसलाई नेपालीकरण गरी शाकुन्तल महाकाव्य तयार पादां सेक्सपियर र मिल्टनको नाट्य शैलीको प्रयोग गरेको भेटिन्छ । पात्रको मनोवैज्ञानिक चित्रण, संवादको गहिराई र नाट्य संरचना पाश्चात्य प्रभावका प्रत्यक्ष प्रमाण हुन् ।

मुनामदन खण्डकाव्यमा मुनाले देखेको सपना र त्यसका आधारमा गरिएको व्याख्याले फायर्डको मनोविश्लेषणको सिद्धान्तलाई अँगालेको छ । सपनाको प्रतीक मार्फत चेतन र अवचेतन मन बिच सङ्घर्ष देखाएका छन्। यस प्रकार उनका कृतिमा पूर्वीय अध्यात्म र पाश्चात्य मस्तिष्क सम्बन्धी मान्यता एक स्वरमा देखिन्छ । देवकोटाको लेखन मानवता र करुणाको सार्वभौम दृष्टिमा आधारित छ । उनले बुद्धको करुणा, यशु‌को प्रेम, टैगरको विश्व मानवता एउटै चेतमा गुम्फित गरेका छन्। उनका कवितामा मानव पिडाको रङ्ग सबै ठाउँमा एउटै हो भन्ने सार्वभौम दृष्टिकोण अभिव्यक्त पाइन्छ। उनका शब्दहरूमा आस्था, विश्वास होइन विवेक सहितको आत्मविश्वास पाइन्छ ।

देवकोटालाई आध्यात्मिकताको अँध्यारो नभई विवेकको उज्यालो हुन् भन्न सकिन्छ । यद्यपि उनका लेखनबारे आलोचकहरू बिचमा मतभेद पनि रहँदै आएको छन्। कतिपयले उनलाई आध्यात्मिक भावनात्मक भने, कतिले तर्क र भावना दुवैको अद्भुत सन्तुलन भएको कवि माने। राष्ट्रकवि माधव प्रसाद घिमिरेका अनुसार देवकोटा आँसु र विचारको सौन्दर्य हुन् वास्तवमा देवकोटाले नेपाली कवितालाई परम्परागत सीमाबाट मुक्त गर्दै विश्व दृष्टिमा उभ्याए। उनले नेपाली भाषालाई दार्शनिक, वैज्ञानिक र कलात्मक रूपमा सम्बद्ध बनाएका छन् ।

आजको समाजमा देवकोटाको सन्देश अझ सान्दर्भिक बनेको छ। विज्ञान र आस्था, धर्म र विवेक, परम्परा र आधुनिकताको सङ्घर्ष बिच उनले खोज्ने सन्तुलन अहिलेको विश्व चेतनाका लागि पनि सन्देश पूर्ण छ। देवकोटाका विचारमा करुणा र तर्क सँगसँगै हिँड्नु पर्छ। आजको शिक्षित, तर्कशील र संवेदनशील पुस्ताका लागि यो वाक्य दिशानिर्देश झैँ लाग्दछ ।

महाकवि लक्ष्मी प्रसाद देवकोटा नेपाली साहित्यका ती उज्याला दीप हुन् जसको ज्योति पूर्वीय दर्शनबाट उदायो र पाश्चात्य चेतमा उज्यालो फैलायो। उनका रचनामा उपनिषादको आत्मा, सेक्सपियर को भावना र टैगरको विश्व मानवता एउटै स्वरमा बास गर्छ। उनी केवल कवि होइनन् समवेदनाका सेतु विवेकका प्रतिमा र मानवताका सन्देश वाहक हुन् । नेपाली साहित्यको इतिहासमा देवकोटा त्यस्तो नाम बनेका छन् जसको रचना पढ्दा लाग्छ हिमालको आत्मा र विश्व मानवताको स्वर एउटै सासमा बाँचिरहेको छ ।

लेखक - सप्तकोसी बहुमुखी क्याम्पस वराहक्षेत्र , चक्रघट्टीका उपप्राध्यापक हुन् ।