धरान : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीले मदिरा सेवन गरी चलाएको गाडीले प्रतिष्ठानको मुख्य गेटको पूर्व तर्फको रेलिङ भत्काएको साता दिन बितिसक्दा पनि वीपीको प्रशासन, इलाका प्रहरी कार्यालय मौन रहेको छ ।

सवारीको चाप भइरहने अस्पताल जस्तो संवेदनशील क्षेत्रमा मदिरा सेवन गरेर सवारी हाँक्नु गम्भीर छदैंछ, त्यसमा वीपीकै कर्मचारी संलग्न रहनु र वीपी प्रशासन अनभिज्ञ रहे जस्तो गरिनु आश्चर्यजनक छ । उक्त घट्नाले वीपी गेटमा सर्वसाधारण असुरक्षित रहेको देखिएपनि प्रहरी समेत मौन रहेकोमा प्रत्यक्षदर्शीहरुले प्रहरी माथि नै प्रश्न उठाएका छन् ।

प्रत्यक्षदर्शीले उक्त घट्नामा वीपी प्रतिष्ठानका एकेडेमी म्यानेजर सागर ताम्राकार संलग्न भएको बताएका छन् । उनी त्यसमा संलग्न थिए थिएनन् वीपीको सिसिटिभी फुटेज जाँच गरे स्पष्ट हुनसक्छ ।

घटना कात्तिक २ गते आइतबार राति भएको हो । प्रत्यक्षदर्शी स्रोतका अनुसार राति करिब ११ बजे अत्यधिक मदिरा सेवन गरेर गाडी चलाउँदा रेलिङमा ठोक्किँदा रेलिङ भत्किएको हो ।

प्रत्यक्षदर्शी स्थानीय मेडिकल व्यवसायीले भने, ‘ताम्राकारले बाटोमा गाडी तेर्स्याइरहेका थिए, केही समयपछि ठुलो आवाज आयो, हेर्दा गाडी रेलिङमा ठोक्किएर बिपी को फुटपाथभित्र छिरेको रहेछ, तर उनी भने सामान्य अवस्थामा थिए ।’

घटनापछि स्थानीयले प्रहरीलाई जानकारी गराएपनि तत्काल कुनै कारबाही नभएको उनले आरोप लगाए । उनले भने ‘यदि हामी सामान्य नागरिक हुन्थ्यौँ भने तुरुन्तै पक्राउ परिन्थ्यो तर वीपीकै कर्मचारी भएकोले कुनै कारबाही भएन ।’

स्थानीयले प्रहरी घटनास्थलमा ढिलो पुगेको र घटनाको विवरण समेत नटिपेको बताए ।

रजिष्ट्रारको भनाइ

प्रतिष्ठानका रजिष्ट्रार सूर्यप्रसाद सङ्ग्रौलाले घटनाबारे औपचारिक जानकारी नभएको जनाए । उनले भने, ‘हालसम्म मलाई कुनै जानकारी आएको छैन, जानकारी प्राप्त भए लगत्तै आवश्यक कारबाही हुनेछ, कानुन विपरीत काम गर्ने कसैलाई पनि छुट हुँदैन ।’

उनका अनुसार सागर ताम्राकार पहिला खरिद शाखा प्रमुख थिए भने अहिले एकेडेमी विभागका म्यानेजरको रूपमा कार्यरत छन् । उनले भने ‘पदाधिकारीले नै गल्ती गरे पनि सजायको भागीदार हुनुपर्छ, कानुन सबैकालागि बराबर हो ।’

प्रहरीलाई पनि जानकारी छैन

इलाका प्रहरी कार्यालय धरानले भने घटनाबारे कुनै जानकारी नभएको जनाएको छ । प्रहरीका अनुसार विपी प्रतिष्ठान बिटले पनि प्रहरी कार्यालयलाई घटना सम्बन्धी जानकारी दिएको छैन ।

sagar-tamrakar-gadi