धरान : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले १० वर्ष भित्र कोशी प्रदेशका हिमाली र पहाडी जिल्लाका सबै माध्यमिक विद्यालयहरूको नयाँ भवन आइसिटी कक्षा सहितको निर्माण हुने बताएका छन् ।
उनले धनकुटाको सहिदभूमि-६ को ठाकुरदेवी माध्यमिक विद्यालयमा खेतान फाउन्डेसनले निर्माण गरिदिएको आइसिटी सहितको भवन उद्घाटन समारोहमा उक्त घोषणा गरेका हुन ।
मुख्यमन्त्री कार्कीले भने ‘खेतान फाउन्डेसनको सहयोगमा १० वर्षमा हिमाली र पहाडी जिल्लाका सबै माध्यमिक विद्यालयहरूको पूर्वाधार विकास गरिने छ ।’
सिपी फाउण्डेशनद्वारा ९२ लाख रुपैयाँको लागतमा निर्मित भवनमा सूचना प्रविधि र कम्प्युटर सहितको पूर्वाधार युक्त ८ वटा कोठा छ । फाउन्डेसनले शहिदभूमिका सबै विद्यालयमा त्यस्तै भवन निर्माण गरिदिने जानकारी दिएको छ।
मुख्यमन्त्री कार्कीका अनुसार सिपी फाउन्डेसन सहित दातृ संस्थाको सहयोगमा कोशी प्रदेशको हिमाली ३ जिल्ला र पहाडी ८ जिल्लाका ५०० वटा विद्यालयको आइसिटी सहितको पूर्वाधार निर्माण गरिदिने समझदारी यसै आर्थिक वर्षभित्रै हुनेछ ।
भवन निर्माण गर्न प्रदेश सरकार र पालिकाहरू बिच सम्झौता हुनेछ । फाउन्डेसनले प्रदेश सरकारसँग सम्झौता गर्ने गरेपछि निर्माण कार्य सुरु हुनेछ । फाउन्डेसनले विद्यालय बनाउन १५ अर्ब रुपैयाँ लगानी गर्ने छ । खेतान फाउन्डेसनका संस्थापक सिपी खेतानले यसबाट कोशी प्रदेशमा शैक्षिक सुधारमा ठुलो उपलब्धि हासिल हुने बताए ।
मुख्यमन्त्री कार्कीले विद्यालयहरू निर्माणको उक्त रकम १० वर्षभित्र सक्ने योजना प्रदेश सरकारको रहेको बताए । फाउन्डेसनले त्यस अघि नै कार्यक्रम सम्पन्न गर्ने तयारी गर्न आग्रह गरे पनि प्रदेश र पालिकाको स्रोत साधनलाई समेत प्रयोग गरेर अघि बढ्नुपर्ने भएकाले यसको समय १० वर्ष राख्न लागिएको उनको भनाई थियो ।
यसै बिच मुख्यमन्त्री कार्कीको पहलमा आजै सहिदभूमि गाउँपालिका र सिपी फाउन्डेसन बिच पालिकालाई नमुना पालिका बनाउने गरी समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी अनुसार फाउन्डेसनले पालिकामा २ देखि ३ अरब रुपैयाँ लगानी गर्ने ।
नमुना पालिका बनाउन विद्यालय, स्वास्थ्य चौकी र लघु उद्यमशीलता साथै सडक कालोपत्रेमा लगानी हुने छ । कार्यक्रममा ह्युमन प्राक्टिस फोरम पनि मुख्य सहयोगी भूमिका रहने छ । आजै फाउन्डेसन र फोरम बिच पहिलो चरणमा ३ अर्ब लगानी गर्ने सहमति पत्रमा हस्ताक्षर भएको छ ।
हस्ताक्षर कार्यक्रममा मुख्यमन्त्री कार्की र खेतान फाउन्डेसनका सिपी खेतान लगायत विदेशी संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो । गाउँपालिकाका अध्यक्ष मनोज राईले सम्झौताले धनकुटाको पछाडि पारेको सहिदभूमि पालिका एउटा नमुना पालिकाको रूपमा स्थापित हुने बताए ।
२०३६ सालको खोकु छिन्ताङ हत्याकाण्ड भएको गाउँ उक्त घट्नापछि पछाडि पारिएको थियो ।

































































