कार्तिक कृष्ण त्रयोदशीका अवसरमा आज देशभर काग तिहार पर्व श्रद्धा र भक्तिसाथ मनाइँदैछ। यस दिन बिहानै कागलाई यमराजका दूतका रूपमा सम्मान गर्दै मिठा-मिठा परिकार चढाई पूजा आराधना गरिन्छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार सूर्योदयको समयमा त्रयोदशी परेकाले आज आइतबार नै काग तिहार पर्व मनाउनुपर्ने निर्णय गरिएको हो।

शास्त्रीय मान्यताअनुसार, यमराजले लोकका समाचार कागका माध्यमबाट प्राप्त गर्ने भएकाले कागलाई यमदूतका रूपमा पूजा गर्ने प्रचलन रहिआएको छ। कागले यमराजसमक्ष शुभ समाचार पुर्‍याओस् भन्ने कामनासहित भक्तजनले आजका दिन दही-भात र अन्य परिकार खुवाउने गर्दछन्।

लोक परम्परामा पनि “काग घरमा कराएमा शुभ बोल” भन्ने भनाइ प्रचलित छ। त्यसैले आजको दिन कागलाई खुशी पार्दा शुभ समाचार र कल्याणको प्रतीक मानिन्छ।

शास्त्रमा उल्लेख भएअनुसार ‘काकेन दधि भक्षितम्’ अर्थात् कागलाई दही-भात मन पर्ने भएकाले यस दिन कागलाई दही-भात चढाइने प्रचलन अझै जीवित छ।

तिहार पर्व यमराज र धर्मराजसँग सम्बन्धित पर्व हो । यस पर्वमा दुष्कर्म गर्नेले यमराजबाट दण्ड पाउँछन् भने सत्कर्म गर्नेले धर्मराजबाट रक्षा पाउने विश्वास छ। यमयातनाबाट मुक्तिका लागि शनिबार साँझदेखि नै परिवारका सबै सदस्यका नाममा यम दीपदान सुरु गरिएको छ । शास्त्रअनुसार यम दीप दक्षिणमुखी गरी जलाइन्छ।

यस वर्ष तिथिको घटबढका कारण सायंकालमा त्रयोदशी परेकाले यमपञ्चक शनिबार बेलुकीदेखि नै सुरु भएको हो।

त्यसैगरी, लक्ष्मी स्थिर राख्ने धार्मिक विश्वाससहित सुनचाँदीका गहना र तामाका भाँडाकुँडा किन्ने धनतेरस पर्व पनि शनिबार नै मनाइएको छ। यस दिन गरगहना किन्ने घरमा लक्ष्मी स्थायी रूपमा बसोबास गर्छिन् भन्ने जनविश्वास रहिआएको छ।