वराहक्षेत्र : वराहक्षेत्र नगरपालिका-१ स्थित धर्तीको पहिलो तीर्थ वराहक्षेत्र मन्दिरको संरक्षण, प्रवर्द्धन तथा विकासका लागि स्थापित वराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिले दोस्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ।
मङ्गलवार वराहक्षेत्र मन्दिर परिसरस्थित प्रवचनालय हलमा सम्पन्न सभाको अध्यक्षता समितिका अध्यक्ष भक्तबहादुर श्रेष्ठले गरेका थिए।
कार्यक्रममा समाजसेवी दिनेश अग्रवाल, जीवनकुमार अग्रवाल, वराहक्षेत्र आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुजन भण्डारी, विष्णुपादुका मन्दिर विकास समितिका अध्यक्ष राजकुमार निरौला, वराहक्षेत्र मन्दिरका प्रधान पुजारी किरण भण्डारी, आदि वराह मन्दिरका संरक्षक तथा पण्डित योगेश भण्डारी, वराहक्षेत्र प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक चित्रबहादुर बोगटी लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।
सभामा अध्यक्ष श्रेष्ठले समितिको गत वर्षको कार्य प्रगति तथा आगामी योजना प्रस्तुत गरे। त्यसैगरी कोषाध्यक्ष रविकुमार श्रेष्ठले आर्थिक वर्ष २०८१/८२ को आर्थिक प्रतिवेदन प्रस्तुत गरे। उनका अनुसार सो अवधिमा मन्दिर संरक्षण तथा व्यवस्थापनका लागि विभिन्न शीर्षकहरू धार्मिक यज्ञ-अनुष्ठान, पूजा-पाठ, भेटी, दानपेटी र चामल बिक्री लगायत स्रोतबाट एक करोड ५९ लाख ७१ हजार ७ सय ९९ रुपैयाँ आय सङ्कलन भएको थियो।
त्यसै अवधिमा कार्यालय सञ्चालन, पुँजीगत खर्च, फर्निचर र सङ्गीत सामग्री खरिद, कर्मचारी तलबलगायतमा एक करोड १५ लाख ५ सय ६१ रुपैयाँ खर्च भएको उनले बताए। समितिको खातामा ८२ लाख ७३ हजार २ सय ३२ रुपैयाँ मौज्दात रहेको जानकारी पनि दिइयो।
कार्यक्रममा समितिका उत्कृष्ट कर्मचारीका रूपमा कार्यालय सचिव गङ्गाबहादुर मगर र सरसफाइ कर्मचारी दानबहादुर तामाङलाई सम्मान गरिएको थियो। उपाध्यक्ष राजु घिमिरेले स्वागत मन्तव्य राखेका थिए ।


































































