राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिका अनुसार आज टिकाको साइत बिहान ११ बजेर ५१ मिनेटमा रहेको एक विज्ञप्ति मार्फत जनाएको छ। तर विजयादशमीको हरेक क्षण शुभरहेकाले टीका लगाउनका लागि जुनसुकै समय पनि सामान्य उत्कृष्ट रहेको छ। 
आज मान्यजन एवम् कुल वृद्धवृद्धा बाट दुर्गाको प्रसादका रूपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिन देखि वैदिक विधिपूर्वक महाकाली महालक्ष्मी महासरस्वतीको पूजा गरी राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकका रूप मानी लगाउने गरिन्छ । जमरा विभिन्न रोगव्याधमा औषधिका रूपमा काम गर्ने भएकाले यसको तथ्य वैज्ञानिक रूपमा समेत पुष्टि भइसकेको छ।
आज टिका ग्रहण गर्नु पूर्व सर्व प्रथम घरको मूल ढोकामा नौ वटा गोबरका वेदि बनाई त्यहाँ रातो अक्षता, सुपारि सिक्का पैसा एवम् जमरा टाँस्ने चलन रहेको छ । यसो गर्दा नवदुर्गा भवानीको आशीर्वादले घरमा रोगव्याधी, दुःख कष्ट कलह घरमा नपस्ने र घरमा सुख शान्ति समृद्धि छाउने विश्वास गरिन्छ । 
आज टिका ग्रहण गर्दा क्रमैसँग घरको जेठो अथवा सबैभन्दा माननीय व्यक्तिका हातबाट टिका थाप्न सुरु गरिन्छ। टिका ग्रहण गर्दा विभिन्न संस्कृतिका श्लोक एवम् नैतिक आदर्शका वाक्यहरूबाट आशिष् दिने गरिन्छ। पुरुष एवम् महिलाहरूका लागि आशिष् दिने छुट्टाछुट्टै मन्त्र रहेको छ।
पुरुषहरूका लागि आशिष् दिने मन्त्र
आयु द्रोण सुते, श्रीयं दशरथेशत्रुक्षयं राघवे ।
ऐश्वर्य नहुषे गतिश्च पवने, मानं च दुर्योधने।।
दानम् सूर्यसुते , वलं हलधरे सत्यंच कुन्तीसुते।
विज्ञान विदुरे भवन्तु भवतां कीर्तीश्च नारायणे।।
यस श्लोकबाट पौराणिक कालका महापुरुष जस्तै हुनु भनेर आशिष् दिइएको छ। यसको अर्थ हुन्छ "ऋषि द्रोणाचार्यका पुत्र अस्वत्थामाको जस्तो आयु होस्, राजा दशरथको जस्तो कृति होस्, रामको जस्तो शत्रु हरण गर्ने क्षमता होस्, नहुषको जस्तो ऐश्वर्य होस्, पवनको जस्तो गति होस्, दुर्योधनको जस्तो सान र मान होस्, सूर्यपुत्र कर्णझैँ दानी स्वभाव होस्, भीमसेनको जस्तो बल होस्, युधिष्ठिरको जस्तो सत्य वचन होस्, विदुरको जस्तो ज्ञान र नारायणको जस्तो कृति छाओस्।
महिलाहरूका लागि आशिष् दिने मन्त्र :
जयन्ती मङ्गला काली भद्रकाली कपालिनी । 
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तु ते ॥
जयत्वं देवी चामुण्डे जय भूतार्तिहारिणि ।
जय सर्वगते देवी कालरात्रि नमोऽस्तु ते ॥ 
यस मन्त्रलाई आरोग्य मन्त्र पनि भनिन्छ । मंगलगुणकि देवी अनि सदासर्वदा विजयी जयन्ती, जीवन र मृत्युकी नियन्त्रक काली माता जो समयको परिधि बाहिर  हुनुहुन्छ, मानव खप्परको माला लगाउनु भएकी कपालिनी, दुर्गतीको नाश गर्ने दुर्गा अनि एकाकार र सर्वशक्तिमान् शिवा, क्षमाकी देवी क्षमा, सबै जीवकी दाबी धातृ, हरेक यज्ञ र दान पुण्यकी देवी स्वाहा, मानवका हरेक यज्ञ दानपुण्य कि सङ्कल्प देवी स्वधालाई अन्तर हृदयबाट स्मरण गरी यिनै देवी जस्तै हुनु भनी आशिष् दिइन्छ। 
दशैंमा मान्यजनबाट आशीर्वाद लिन निधारमा टीका थाप्ने गरिन्छ र हाम्रो समाजमा रातो अथवा सेतो टिका लगाउने चलन रहेको छ। रातो र सेतो  टिका शान्ति एवं समृद्धिका प्रतीक हुन् । यसले मस्तिष्क, मन र बिचारलाई शुद्ध तुल्याउँछ । 
टिका ग्रहण गर्दा आशिष् सहित दक्षिणा पनि दिने चलन रहेको छ। दसैं र दक्षिणा एक अर्काको पर्याय जस्तै भएको छ। दक्षिणाको अर्थ कर्मलाई समृद्ध बनाउनु भन्ने हुन्छ । दक्षिणा दिनै पर्छ भने अनिवार्यता छैन । 
समृद्धहरूले  दक्षिणा दिन हुन्छ भने दिँदा फरक पर्दैन तथा नभएकाले जमरा एवम् पत्र पुष्प मात्र  दिए पनि हुन्छ।
मानिसले कुरा नबुझेर एवम् देखासिकी गरेर मात्र हाम्रा चाडबाड खर्चालु भएका हुन् । हाम्रा धर्मशास्त्रहरूमा दक्षिणा दिनै पर्छ भनेर कहीँ पनि उल्लेख गरिएको छैन।
आजदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट दुर्गा भवानीको  प्रसाद स्वरूप टीका, जमरा र आशीर्वाद थाप्न हिँड्ने चलन रहेको छ ।
                            
        
                    
        
                                        
                                                                                                
        
                
                
                
        
        










        
        
















































