इटहरी : जेनजी आन्दोलनको क्रममा जलाइएका इलाका प्रहरी कार्यालय इटहरी र ट्राफिक प्रहरी कार्यालयको भवन पुनर्निर्माण गरिएको छ । इटहरी उपमहानगरपालिका, इटहरी खानेपानी उपभोक्ता संस्था तथा स्थानीय नागरिकको सहयोगमा भवन निर्माण सम्पन्न गरेर हस्तान्तरण भएको हो ।
स्थानीय नागरिकको अगुवाइमा भवन निर्माण अभियान सुरु भएको थियो । जेनजी आन्दोलनको क्रममा आगलागी र तोडफोड भएको क्षतिग्रस्त संरचनाबाट सेवा प्रवाह नहुने भएपछि प्रहरी नै असुरक्षित भएको अवस्थामा नागरिक अगुवाहरूले पुनर्निर्माण अभियान चलाएका हुन् । सोही क्रममा उपभोक्ता समिति गठन गरेर सुरु भएको पुनर्निर्माण कार्य भर्खरै सम्पन्न भएको छ ।
इटहरीको मुख्य चोकमै रहेको इलाका प्रहरी कार्यालय जलेपछि अस्थायी रूपमा इटहरी रङ्गशालामा भवन पुनर्निर्माण गरिएको छ । जसको लागि इटहरी उपमहानगरपालिकाले ४४ लाख ३७ हजार र उपभोक्ता समितिको ९ लाख ४३ हजार लगानीमा निर्माण सम्पन्न भएको हो । कुल ५३ लाख ३५ हजारमा निर्माण भएको इलाका प्रहरी कार्यालयमा थुनुवा घर, प्रहरी ब्यारेक, शौचालय, विद्युत् सेवा, प्रतीक्षालय तथा मेलमिलाप केन्द्र स्थापना गरिएको छ ।
इटहरी उपमहानगरपालिकाले इलाका प्रहरी कार्यालय पुनर्निर्माण लागि ९ नम्बर वडा अध्यक्ष जितेन्द्र थापाको संयोजकत्वमा समिति गठन गरेको थियो । सो समिति मातहतमा रहने गरी सन्तबहादुर डुम्जनको संयोजकत्वमा उपभोक्ता समिति गठन भयो । सोही समिति मार्फत निर्माण भएको इलाका प्रहरी कार्यालयको भवन बुधवार प्रहरीलाई हस्तान्तरण भएको छ ।
कोशी प्रदेशको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय । इटहरी उपमहानगरपालिकाले २० लाख, इटहरी खानेपानीले ५ लाख र स्थानीय उद्योगी व्यवसायीले २ लाख ९३ हजार सहयोग गरेका थिए । २७ लाख ९३ हजारमा निर्मित भवनमा ब्यारेक हल, कार्यालय प्रमुखको कार्यकक्ष सहित अन्य दुई वटा कोठा छन् ।
उद्योग वाणिज्य सङ्घ इटहरीका अध्यक्ष जीवन पराजुलीको संयोजकत्वमा बनेको समितिले गत शनिवार निर्माण सम्पन्न गरेर हस्तान्तरण गरेको हो । कार्यक्रममा भवन निर्माणको क्रममा सहयोगी दाताहरू लगायत अन्य सामाजिक व्यक्तित्वलाई सम्मान पत्र प्रदान गरिएको थियो ।