झापा : जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते झापाको दमकस्थित इलाका प्रहरी कार्यालय दमकबाट लुटिएका हातहतियार र गोली गट्ठा बेवारिसे अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार शुक्रवार साँझ तीन थान इन्सास (हतियार), ३०३ को जङ्गी राउण्ड गोली १३४ थान, एसएलआरको जङ्गी राउण्ड पाँच थान, इन्सासको जङ्गी राउण्ड २० थान र गोली राख्ने बिन्दुली तीन थान फेला परेको हो ।
दमक नगरपालिका वडा नं.१ बुद्ध टोलस्थित रतुवा खोला किनारको काँसघारीमा बेवारिसे अवस्थामा केही हातहतियारहरू तथा गोलीगठ्ठाहरु स्थानीयले देखेपछि इलाका प्रहरी कार्यालयमा दमकमा खबर गरेका थिए ।
खबर पाए लगत्तै इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी नायव उपरीक्षक किशोर लम्सालको कमान्डमा खटिएको टोलीले ती हतियार बरामद गरेको हो ।
ती हतियार रितपूर्वक इलाका प्रहरी कार्यालय दमकमा ल्याइएको ईलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ । जेनजी आन्दोलनका क्रममा झापामा प्रहरीबाट लुटिएका १७ थान हतियार अझै गायब छन् ।
जम्मा २४ थान हतियार लुटेकोमा ७ थान हतियार मात्र भेटिएको झापा प्रहरीले जनाएको छ ।