इटहरी : भदौ २३ र २४ गतेको जेनजी आन्दोलन पछि भयावह स्थिति देखा परेको छ । आन्दोलनको क्रममा आगजनी भएका भवन तथा संरचनाहरूको कारण सुनसरीमा मात्र अर्बैको क्षति भएको हो । सरकारी कार्यालयमा भएको विनाशले महत्त्वपूर्ण कागजात र संरचनाको सत्यानाश भयो । संरचनाको विनाश मात्र हैन त्यसको व्यवस्थापन धेरै चुनौतीपूर्ण देखिएको हो ।
सुनसरी मालपोत कार्यालय, उच्च अदालत विराटनगर, इटहरी उपमहानगरपालिका, सुन्दरहरैचा नगरपालिका, आन्तरिक राजस्व कार्यालय विराटनगर, प्रदेशसभा विराटनगर, यातायात कार्यालय इटहरी, कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरी लगायत महत्त्वपूर्ण सरकारी निकायमा आगजनी भयो । जसले गर्दा लाखौँको सङ्ख्यामा महत्त्वपूर्ण फायल गायब भए । फायल मात्र हैन संरचना पनि ध्वस्त भएको छ ।
इलाका प्रहरी कार्यालय इटहरी सहित अन्य प्रहरीका विटहरूमा आगजनी भयो । प्रहरी कार्यालय नहुँदा प्रहरीले आफ्नो गतिविधि सञ्चालन गर्न सकेको छैन । अहिले प्रहरीले कुनै पनि गतिविधि नगर्दा नागरिकमा त्रास उत्पन्न भएको छ । साँझको समयमा बढेको चोरी र डकैतीका घटनाले स्थानीय नागरिक त्रसित हुन् ।
कार्यालयका सवारी साधन र उपकरणमा भएको क्षतिको यकिन विवरण आउन सकेको छैन । सिंहदरबार, शीतल निवास, सर्वोच्च अदालत, शेरबहादुर देउवा निवास, केपी शर्मा ओली निवास, गगन थापाको निवास लगायत नेताहरूको घरमा आगलागी भयो । संसद् भवनबाट सुरु भएको आगलागी देशैभरका विभिन्न सरकारी संरचना हुँदै वडा कार्यालयमा समेत फैलियो । जसले नागरिकको खर्बैको महत्त्वपूर्ण सम्पत्तिमा क्षति पुगेको छ । जलेर नष्ट भएका सवारी साधनका पार्टपुर्जा समेत चोरी गरेर विक्री गर्ने क्रम बढेको इटहरीका राजु केसी बताउँछन् ।
निजी सम्पत्तिमा भएको क्षतिको पनि यकिन विवरण आउन सकेको छैन । हिलटन होटेल देखि विराट चौकको नेपालीरिका समेत जलेर नष्ट भएको छ । कोशी प्रदेशको पहिलो पाँचतारे होटेल मेची क्राउन देखि इटहरी उपमहानगरपालिकामा मेयर हेमकर्ण पौडेलको घर समेत जलेको छ ।
नेपालको पहिलो र सबैभन्दा ठुलो सुपर मार्केट भाटभटेनीका विराटनगर, नक्साल, धरान र खिचापोखरीमा आगलागी भयो । आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । अन्य शाखाहरूमा पनि लुटपाट भएको छ । धेरै व्यापारिक भवन र पसलहरूमा लुटपाट भएका छन् । प्रहरी र व्यापारी माथि समेत आक्रमण भएको छ । हालसम्म कति प्रहरीको मृत्यु भयो भन्ने यकिन आउन सकेको छैन ।
जेनजी आन्दोलन पछि सरकार गठन प्रक्रियामा सहमति नभएपछि अझैसम्म अन्यौलता बढिरहेको छ । यस बिचमा सिमा क्षेत्र र बजार आसपासमा लुटपाट सुरु भएको छ । प्रहरीलाई कुनै पनि गतिविधि विहीन बनाइएपछि नागरिकमा त्रास बढेको हो ।
मोरङको रंगेलीका अजय सिवाकोटीले रातभर गस्ती गर्नुपर्ने अवस्था आएको बताएका छन् । सीमापारिबाट आएका हतियारधारी समूहले घरमा छिर्ने र लुटपाट मच्चाउने गरेको उनको भनाइ छ । प्रहरी नभएको अवस्था पारेर विभिन्न वडा कार्यालयहरूमा लुटपाट भइरहेको छ ।
लुटपाट हुन नदिने गाउँ तथा टोलमा युवा दस्ता तयार पार्ने क्रम चलिरहेको छ । धरानबाट सुरु भएको प्रतिकार समूहको गठन अन्य सहरहरूमा पनि फैलिएको हो । नेपाली सेनाले सहरका मुख्य क्षेत्र कब्जामा लिएपछि व्यापार व्यवसाय ठप्प भएको छ । पछिल्लो अन्योलताको अवस्थालाई लिएर उद्योगी, व्यापारी, व्यवसायी, प्राध्यापक, पत्रकार, विद्यार्थी लगायत सम्पूर्ण नागरिक त्रसित बनेका हुन् ।