धरान : जेनजी आन्दोलनमा मुत्यु भएकाहरूलाई सहिद घोषणा गर्न नेकपा माओवादी केन्द्र निकट मुक्ति  मोर्चाहरूले माग गरेका छन् । 
गत भदौ २२ देखि २३ गते सम्म भएको आन्दोलनको क्रममा मृत्यु भएका ३० जना भन्दा बढी निर्दोष  किशोर किशोरीहरूलाई सहिद घोषणा गर्न माग गरिएको हो ।
माओवादी केन्द्र सम्बद्ध ८ मोर्चाहरूले शुक्रवार संयुक्त विज्ञप्ति जारी गर्दै उक्त माग गरिएको हो । संयुक्त विज्ञप्तिमा किराँती राष्ट्रिय मुक्ति मोर्चा अध्यक्ष रामकुमार राई, लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा अध्यक्ष मुक्सामहाङ मेन्याङवो, कोच राष्ट्रिय मुक्ति मोर्चा अध्यक्ष ममता ताजपुरीया, धिमाल राष्ट्रिय मुक्ति मोर्चा अध्यक्ष तारिलाल धिमाल, सन्थाल राष्ट्रिय मुक्ति मोर्चा अध्यक्ष मोहन टुडु, झाँगड उराव राष्ट्रिय मुक्ति मोर्चा अध्यक्ष राम लखन उराव, मेचे राष्ट्रिय मुक्ति मोर्चा अध्यक्ष कविराज मेचे र भोटे राष्ट्रिय मुक्ति मोर्चा अध्यक्ष सोनाम भोटेको हस्ताक्षर छ ।
सहिद घोषणा सहित उनीहरूका परिवारलाई क्षतिपूर्ति र घाइतेहरूको निःशुल्क उपचारको माग पनि गरिएको छ । विज्ञप्तिमा जेनजी पुस्ताले गरेका शान्तिपूर्ण आन्दोलनलाई भ्रष्ट, दलाल एवं बिचौलिया सरकारले परिस्थितिलाई उत्तेजित र हिंसात्मक बनाएकोले ३० जनाभन्दा बढी निर्दोष किशोर किशोरीको हत्या भएको भनिएको छ । 
भ्रष्टाचारको अन्त्य, सुशासन र अभिव्यक्ति स्वतन्त्रताको माग राखी गरिएको शान्तिपूर्ण आन्दोलनमा देशी विदेशी प्रतिकृयावादी एवं प्रतिगामी शक्तिहरू र अराजक तत्त्वहरूको घुसपैठ भएको विज्ञप्तिमा उल्लेख छ ।
आन्दोलनको क्रममा विकसित राजनैतिक घटनाक्रमहरूले प्रतिगमनको गम्भीर आशङ्का पैदा गरेकोप्रति चिन्ता जनाउँदै जेन–जी पुस्तासँग भइरहेको वार्तामा राजावादी सङ्गठन र अराजक समूह जस्ता प्रतिगामी एवं भारतीय दलाललाई महत्त्व दिइनु प्रतिगमनको खतरा सङ्केत गरेको विज्ञप्तिमा उल्लेख छ ।
लाखौँ जनताको वलीदानीपुर्ण सङ्घर्षबाट प्राप्त गणतन्त्र, धर्मनिरपेक्षता, सङ्घीयता र समानुपातिक समावेशिता जस्ता ऐतिहासिक उपलब्धिहरूलाई सिध्याएर मुलुकलाई फेरि पुरानै ठाउँमा पुर्‍याउने प्रतिगामी हरकतहरु भए त्यसको विरुद्धमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र र समुन्नत लोकतन्त्रका लागि अर्को भीषण जनविद्रोह हुनेसमेत जनाइएको छ ।