धरान : जेनजीको नाममा अराजक समूहले मङ्गलवार राती धरानमा लुटपाट गरी आगोले जलेर नष्ट भएको भाटभटेनी डिपार्टमेन्ट भवन भित्र फसेका ४ जनाको जलेर नष्ट भएको अवस्थामा शवको अवशेष फेला परेको छ ।
धरान–१० पुतली लाइन स्थित भाटभटेनीमा आगो लगाउँदा तोडफोडको क्रममा छिरेका ४ जना भित्रै फसेको आशङ्का गरिएको थियो । त्यस मध्ये एक जनाको दाँत, बङ्गारा सहित खप्परको अवशेष दोस्रो तलामा भेटिएको प्रहरीले जनाएको छ ।
भाटभटेनीमा लागेको आगो बिहीबार बेलुका राती ९ बजे नियन्त्रणमा आएपछि आज शुक्रवार भित्र फसेको भनिएकाहरूको खोजी उद्धारमा जुटेका सुरक्षाकर्मी र जनप्रतिनिधिहरूले चौथो तलामा थप ३ जनाको शवको अवशेष फेला परेको हो ।
चौथो तलामा भेटिएको जलेर नष्ट भएको ३ जनाको शव तिनतिर पूर्व पश्चिम उत्तर फर्किएको अवस्थामा रहेको देखिएको प्रहरीले जनाएको छ । उनीहरूको अवशेष लगभग १ फिटको दुरीमा पाइएको हो । उनीहरू आगोमा परेपछि एकै ठाउँमा बसेको अनुमान गरिएको छ । आगलागीका बिच छतको सिलिङ झरेर र फ्रिजको फलामले थिचेको देखिन्छ ।
शवको अवशेषहरू भेटिए पनि उनीहरूको पहिचान खुल्न सकेको छैन । अवशेषहरूको फोरेन्सिक डिएनए जाँचबाट मात्र पहिचान खुल्न सक्ने प्रहरीले जनाएको छ । प्रहरी अनुसार शवको अवशेषहरू मुचुल्का उठाएर पोस्टमार्टम गर्न लगिएको छ ।
जेन–जी आन्दोलनको दोस्रो दिन मङ्गलवार अराजक समूहले भाटभटेनीमा तोडफोड, लुटपाट गरी आगजनी गरेका थिए । आगो बिहीबार बेलुका राती ९ बजे नियन्त्रणमा आएपनी चौथो तलामा सामानहरूबाट फुसफुसे धुवाँ आइरहेको देखिएपछि आज शुक्रवार दिउँसो पुनः धरानको २ वटा दमकलले निभाउने प्रयास गरिरहेको छ ।
आगालागिमा आफ्ना छोराहरू फसेको हुनसक्ने भन्दै ४ जनाका अभिभावक खोज्दै आएपछि भाटभटेनी तोडफोड र लुटपाट गर्नेहरू मध्ये ४ जना भवन भित्रै फसेको आशङ्का गरिएको थियो ।
भाटभटेनीका सुरक्षा गार्ड युवराज राईले उनीहरूले छोराहरू मङ्गलवार साँझ देखी घर नआएकाले भिडमा सँगसँगै भाटभटेनीमा आएको हुनसक्ने बताएका थिए ।
गार्ड राईका अनुसार मङ्गलवार साँझ ५ बजे नै भाटभटेनी बन्द गरिएको थियो । पछि भिडले सटर तोडफोड गरी लुटपाट गरेपछि आगो लगाए । उनले भनेका थिए ‘आगो लगाउँदा कर्मचारी कोही पनि भित्र थिएनन् तर तोडफोड गर्दै भित्र प्रवेश गरेर माथिल्लो तला पुगेका केही युवाहरू भुईतलाबाट आगो सल्किएपछि निस्कन नपाएर फसेका हुन सक्छन् ।’