वराहक्षेत्र : जेनजी युवाहरूको आन्दोलनको नाममा सरकारी, सार्वजनिक तथा व्यक्तिगत सम्पत्ति तोडफोड र आगजनी गर्ने व्यक्तिहरूलाई कानुनी कारबाहीको प्रक्रिया अघि बढाउन नेपाली काँग्रेस वराहक्षेत्र नगर कार्यसमितिले प्रशासनसँग माग गरेको छ।

नेपाली काँग्रेस वराहक्षेत्र नगर समितिको बैठक सोमबार नगर सभापति तथा नगर प्रमुख रमेश कार्कीको अध्यक्षतामा बसेर यस्तो निर्णय गरेको हो। बैठकले जेनजी आन्दोलनमा शहादत भएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव समेत पारित गरेको छ।

भाद्र २४ गते अपराह्नदेखि बेलुकासम्म कालाबञ्जरस्थित वडा नं. ५ को कार्यालयमा तोडफोड गरी फर्निचर, टिभी र महत्त्वपूर्ण कागजात जलाउने र चोरी गर्ने कार्य भएको थियो। त्यस्तै ढिकझोडा स्थित वडा नं. ७ को कार्यालय, धनपुरीस्थित वडा नं. ४ को कार्यालयमा समेत तोडफोड र केही सामग्री चोरी भएको बैठकले जनाएको छ।

वडा नं. १० प्रकाशपुर बजारमा रहेको मदन आश्रितको सालिक तोडफोड तथा आगजनी भएको थियो। त्यस्तै, वडा नं. ७ स्थित पिपलगाछीमा नगर प्रमुख तथा काँग्रेस नगर सभापति रमेश कार्कीको घर, उपप्रमुख नन्दकुमारीको घर, वडा अध्यक्ष कपिल आचार्यको घर, स्थानीय अर्थराज कोइरालाको घर तथा वडा नं. ६ चक्रघट्टीस्थित वडाध्यक्ष उद्वब प्रसाद पोखरेलको घरमा समेत तोडफोड, आगजनी र चोरी भएको थियाे।

बैठकमा सहभागी नेताहरूले जेनजीले उठाएका माग जायज भए पनि आन्दोलनका क्रममा अराजक तत्व र घुसपैठका कारण परिस्थिति बिग्रिएको बताए। उनीहरूले आन्दोलनको आडमा तोडफोड, आगजनी गर्ने व्यक्तिहरूलाई कानुनी कारबाही गर्न जोड दिए।

त्यस्तै, प्रदर्शनका समयमा सामाजिक सञ्जालमार्फत पार्टी परित्याग घोषणा गर्ने नेताकर्मीबारे आगामी बैठकले निर्णय गर्ने र तत्कालीन प्रभावले उनीहरूलाई पार्टी गतिविधिमा सहभागी नगराउने समेत निर्णय भएको नगर सचिव प्रतिक राईले जानकारी दिए।

बैठकले संविधान दिवस असोज ३ गते भव्यताका साथ मनाउने र चतरा इलाका प्रहरी कार्यालय, प्रहरी चौकी तथा अस्थायी चौकीहरूको पुनःव्यवस्थापन र परिचालन गर्न माग गर्ने निर्णय पनि गरेको छ।