धरान : जेनजी आन्दोलनका सहिदहरूको शहादतप्रति सम्मान गर्दै सरकारद्वारा घोषित शोक दिवसको दिन आज बुधवार फुटबलका जेनजी पुस्ताले धरानमा दीप प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गरेको छ ।
धरान खेलकुद मञ्चको आयोजनामा धरान उपमहानगरपालिका गेटमा भएको श्रद्धाञ्जली सभामा एन्फा एकेडेमी र फेयर फुटबल एकेडेमीका फुटबल खेलाडीहरूले मैनबत्ती बालेर शहिदहरुप्रति श्रद्धाञ्जली चढाएका हुन ।
कार्यक्रममा मञ्चमा आबद्ध खेल सङ्घहरूका खेलाडी पदाधिकारी तथा युवाहरूको उपस्थिति उपस्थिति थियो ।
धरान खेलकुद मञ्च धरानका अध्यक्ष तथा एन्फाका कोशी प्रदेश अध्यक्ष किशोर राईले शहिदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आन्दोलनले ल्याएको परिवर्तनले देशलाई पूर्ण भ्रष्टाचार मुक्त बनाउन स्थिर सरकारको निर्माण गर्ने विश्वास व्यक्त गरे ।
उनले शान्तिपूर्ण रूपमा भएको आन्दोलनमा अराजक समूहको प्रवेशका कारण व्यक्तिको घर, होटेलमा समेत तोडफोड आगजनी भएको बताए । उनले भने ‘धरानमा भएका यस्ता घटनाहरूको दोषी पत्ता लगाउने कार्य स्थानीय नेतृत्वले गर्नु पर्छ ।’
धरान उपमहानगरपालिकाको भोली बिहीबार हुने कार्यपालिका बैठकमा धरानमा भएको घटनाहरूका बारे छलफल हुनुपर्ने अध्यक्ष राईका भनाई थियो ।खेलकुदको सहर मानिँदै आएको धरानमा भएका घट्नाहरुले धरानको नाम बदनाम भएको उनले बताए । मञ्चले सबै विधाका खेलको खेल सङ्घहरूको प्रतिनिधित्व गर्ने छाता संस्थाको रूपमा खडा गरिएको उल्लेख गर्दै उनले भने ‘सबै खेलकुद क्षेत्र मुलुकले व्यहोर्नु परेका धनजनको क्षतिबाट शोकाकुल छन्।’
धरानमा फुटबल, सितारियो कराँते, जुडो, भलिबल, आर्चरी, शारीरिक सुगठन, उसु, बुद्धिचाल, ब्याडमिन्टन,  गल्फ, तेक्वान्दो, बास्केटबल, टेबल टेनिस, सेपाकताक्रो, साइक्लिङ, कुरास, प्याराग्लाइडिङ लगायतको खेल सङ्घहरू मञ्चमा आबद्ध छन् ।