काठमाडौँ : गत भदौ २३ र २४ गते भएकाे जेनजी आन्दोलनका क्रममा पदबाट राजीनामा दिएका निर्वतमान गृहमन्त्री रमेश लेखकले आज दिउँसो पत्रकार सम्मेलन गर्ने भएका छन्।
नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्यसमेत रहेका लेखकले जेनजी आन्दोलनसम्बन्धी आफ्नो धारणा सार्वजनिक गर्न कांग्रेस संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरेका हुन।
जेनजी आन्दोलनका क्रममा भदौ २३ गते जनधनको क्षति भएपछि लेखकले सोही दिन साँझ नै गृहमन्त्री पदबाट राजीनामा दिएका थए । त्यसपछि भदौ २४ गते काठमाडौँसहित देशका विभिन्न ठूला शहरमा सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड र आगजनी भएको थियो।
लेखकका स्वकीय सचिव जनक भट्टका अनुसार आज नेता लेखकले घटनासम्बन्धी जानकारी गराउन जाँचबुझ आयोगमा उपस्थित हुने कार्यक्रम छ। 'आयोगमा जानकारी गराएपछि लगत्तै संसदीय दलको कार्यालयबाट विस्तृत रूपमा सार्वजनिक धारणा राख्नुहुनेछ,' भट्टले भने।
लेखकले केही दिनअघि सञ्चार माध्यममार्फत आफू आयोगमा घटनाबारे जानकारी गराउन जाने बताएका थिए। जेनजी आन्दोलनपछि पार्टी महाधिवेशनको विषयमा चलिरहेको कांग्रेसको आन्तरिक छलफलमा मध्यमार्गी भूमिका निभाउँदै आएका लेखकले आयोगमा जानकारी गराउने विषयलाई प्राथमिकतामा राख्दै आएको बताइएको छ।
जेनजी आन्दोलनका क्रममा भएको घुसपैठका कारण लेखकका काठमाडौँ र कञ्चनपुरको महेन्द्रनगरमा रहेका तीनवटा निजी घरमा आगजनी गरी पूर्ण रूपमा ध्वस्त पारिएको थियो।


































































