वि.सं २०४६ सालको परिवर्तनपछि नेपाली पत्रकारितामा व्यवसायीक पत्रकारिताको नयाँ व्याख्या हुन थालेको थियो । ‘कान्तिपुर’ पछि ठूला मिडियामा लगानी बढेर पत्रकारहरु रोजगार बन्न थालेका थिए । पञ्चायतको विरोधमा गरेका ‘मिशन पत्रकारिता’ को ठाउँमा ‘व्यवसायीक पत्रकारिता’ को युग शुरु भएको परिचर्चा, कार्यशाला, विचार गोष्ठि, तालिम खुब हुन्थ्यो ।
व्यवसायीक पत्रकारिताको परिभाषा
पचासको दशक प्रारम्भमा कृष्णप्रसाद श्रेष्ठ, कृष्ण दाईलाइ अहिले पनि सम्झन्छु । नेपाल पत्रकार महासंघको विश्व प्रेस स्वतन्त्रता दिवस वि.सं २०५२ सालमा उहाँले भन्नु भएको थियो ‘पत्रकारहरुले व्यवसायीक पत्रकारित र व्यापारिक पत्रकरिताको भिन्नता बुझ्नुपर्छ ।’
उहाँको भनाई थियो ‘पत्रिका प्रकाशन, सञ्चालन गर्नुपर्ने भएकाले व्यापार र व्यवसाय हो ।’ व्यापार र व्यवसाय नाफामुखी भए पनि केही भिन्नता छन्, व्यापारी तथा व्यवसायी हुनुको भिन्नतालाई नबुझी केवल व्यवसायीक भने र दाैडदा पत्रकारिता दिग्म्रमित हुनसक्ने कृष्ण दाईको भनाई थियो ।
धरानको इतिहासमा २००४ साल देखी लेखन र प्रकाशनमा सकय रहनु भएका कृष्ण दाई विदेशका प्रकाशित हुने चर्चित पुस्तकदेखी नेपालमा छापिएका पुस्तक, पत्रिका र पर्चासमेत पढ्ने धरानमा पहिलो व्यक्ति हुनुहुन्थ्यो ।
पछिल्लो कालखण्डसम्म सार्वजनिक विद्या भवन पुस्तकालय पुगेर भए पनि धरानमा आउने सबै पत्रिकाका उहाँ नियमित पाठक, विश्लेषक हुनुहुन्थ्यो । नेपालमा स्वतन्त्र पत्रकारिताको सुरुआत नहुँदै कृष्ण दाई विश्वका मुलधारका पत्रकारिताको प्रवृत्तिबारे जानकार हुनुहुन्थ्यो ।
राजनीतिक जीवनमा दुई दर्जनभन्दा धेरै देश भ्रमण गर्नु भएका उहाँ फर्कदा ‘लगेज’ मा पत्रपत्रिका र पुस्तक नछुट्ने बताउनु हुन्थ्यो । उहाँको संकलनमा रहेका हजारौं पत्रपत्रिका पिण्डेश्वर विद्यपीठको पुस्तकालयलाई जीवनकालमै प्रदान गर्नु भएको थियो ।
त्यस अर्थमा पनि भर्खरै शुरु भएको नेपाली पत्रकारिताको बारेमा कृष्ण दाईको टिप्पणी महत्वपूर्ण थियो । नेपालमा लेटर प्रेसको चलन सुरु भए पनि पत्रपत्रिका छापिन्न थियो । २०३६/०३७ जनमत संग्रहपछि मात्र पञ्चायती व्यवस्थामा पत्रिका दर्ता खुकुलो बनेको हो ।
कालान्तरमा त्यसको उपयोग गर्दै पञ्चायत व्यवस्था विरुद्ध ‘मिशन पत्रकारिता’ चल्यो । तर त्यस बेलाका चर्चित साप्ताहिक पत्रिकाहरुले २०४६ सालको परिवर्तनपछि संस्थागत मिडिया हाउसको रुप लिन सकेको देखिएन ।
व्यापारिक रुपमा नयाँ लगानीकर्ताहरु आए । रंगीन कलेवरमा दैनिक पत्रिकाहरु निस्किन थाले । त्यस तर्फ इंगित गर्दै कृष्ण दाईले व्यवसायीक पत्रकारिताकाको विषयमा टिप्पणी गर्नु भएको थियो । बदलिएको नयाँ परिवेशमा व्यवसायीक पत्रकारिता त सुरु भयो, व्यापारीह हावी भए । पत्रकारहरु व्यवसायी भएनन् श्रमजीवि पत्रकार बने ।
पत्रकारले आफै पत्रिका प्रकाशन/सञ्चालन गर्नु व्यवसायीक पत्रकारिता हुन्छ कि व्यापारिक पत्रकारिता भन्ने प्रश्न गर्दै कृष्ण दाईले व्यवसायीक पत्रकारिताको स्पष्ट परिभाषा खोजिनु पर्ने बताउनु भएको थियो ।
कृष्ण दाइले गर्नु भएको टिप्पणीको दुई दशकपछि पत्रकारिताको परिभाषा नै संक्रमणकालिन अवस्थामा आउँदा अर्थपुर्ण बनेको छ । छापा माध्यमका पत्रपत्रिकाको बजार खुम्चिएर ठूला मिडिया हाउसहरु संकटमा छन् ।
श्रमजीवि पत्रकारहरु पत्रकारिताबाट पलायन हुने अवस्थामा पुगेका छन् । परिम्परातगत पत्रकारिता नै संकटमा छ । सामाजिक सञ्जालले नागरिक पत्रकारितालाई प्रोत्साहित गरिरहेको छ । युटयुबले अनलाइनलाई चुनौती दिन थालेको छ ।
नेपाल जस्तो देश जहाँ शतप्रतिशत जनता साक्षर छैनन् । परम्परागत सञ्चार माध्यमको पहुँच तल्लो तहका जनतामा नपुगेको अवस्थाको अन्त्य नहुँदै युटयुब र सामाजिक सञ्जाल उनिहरु विच लोकप्रिय बनेको छ । कृष्णप्रसाद श्रेष्ठ, कृष्ण दाइले व्यवसायीक पत्रकारिताको नयाँ पभिाषा खोज्नु पर्ने भनि औंल्याउनु भएको विन्दु वास्तवमा अहिले शुरु भएको जस्तो लागेको छ ।
मुलधारका बाहेक सामाजिक सञ्जालको नागरिक सञ्चार, युटयुब सञ्चारलाई राज्यका कानुनहरुले प्रेस तथा स्वतन्त्र पत्रकारिताका रुपमा चिन्र्दैन । सञ्चारको नयाँ प्रविधिले संविधान र राज्यको कानुनहरुले दिएको प्रेस स्वतन्त्रताको सिमा नाघेको छ ।
अर्कोतिर युटयुबमा कन्टेन्ट बनाएर रोजगार बन्नेहरुको संख्या बढ्दो छ । कतिपय मुलधारका पत्रकार, फोटोग्राफरहरु यसैमा लागेका छन् । पछिल्लो समय सामाजिक सञ्जाल फेसबुकले समेत डिजिटल क्रिएटर मान्यता दिएर कन्टेन्टको लोकप्रियताको आधारमा रकम दिन थालेको छ ।
मुलधारका पत्रकारिताको विकल्पमा आएका नयाँ विश्व सञ्चार माध्यमकै कारण व्यवसायीक तथा श्रमजीवि पत्रकारिताको नयाँ परिभाषामा बहस शुरु भएको हो । लगानीको सट्टा बुद्धि, विवेक र मेहनतबाट कन्टेन्ट सिर्जना गरेर राम्रो आम्दामी गर्न सकिने पत्रकारिता बारेमा टिप्पणी गर्न भने हामी विच नहुनु दुर्भाग्यपूर्ण छ ।
धरान नगरपालिकाका संस्थापक उपसभापति
कृष्णप्रसाद श्रेष्ठ धरान नगरपालिकाका संस्थापक उपसभापति हुनुहुन्थ्यो । धरान उपमहानगरपालिकामा भएको रेकर्ड अनुसार विसं २०१७ सालमा विधिवत नगरपालिका घोषित भएको हो । नगरपालिका बनेपछि भएको स्थानिय चुनावमा कृष्णप्रसाद श्रेष्ठ वडा नं.२ बाट नगरपालिका सदस्य निर्वाचित हुनुभएको थियो ।
दस्तावेज अनुसार उहाँ नगपालिकाको पहिलो प्रबन्ध–कारिणी समितिमा उपसभापति हुनुहुन्थ्यो । कार्यकारिणी समितिको पहिलो वैठक वि.सं २०१७ साल मार्गशिर्ष १६ गते बसेको थियो । धरान नगरपालिकाको गठन प्रकृयामा पहिलो स्थानिय चुनावबाट निर्वाचत सदस्यहरु संस्थापक सदस्यहरु हुन । उहाँहरुबाटै नगरपालिकाको पहिलो नीति कार्यक्रम बनेको हो ।
त्यसबेलाको नगरपालिकाले धरानको सरसफाईलाई पहिलो प्राथमिकता दिएको कुरा त्यति बेला बजार अड्डा भनिने हालको भानुचौकमा सार्वजनिक शौचालय निर्माण गरेको कुराले साबित गर्दछ । कृष्ण दाइमा धरानको विकासको नीति निर्माणमा गहिरो चासो भए पनि पछिल्लो समय पञ्चायत विरोधी राजनीतिक दलका नेता भएकाले उहाँको पञ्चहरुसंग नीतिगत सम्पर्क रहेन ।
विसं २०४६ सालपछिको राजनीतिक परिवर्तन पछिको नगरपालिकाले भने इतिहासको खोजि गर्न थालेको थियो । यसै क्रममा तत्कालिन नगर प्रमुख मनोजकुमार मेन्याङबोले विसं २०५७ सालमा धरानमा मानव बसोबास भएको १०० वर्ष पुरा भएकोमा पुष १९ देखी २३ सम्म सप्ताहव्यापी शतवार्षिक महोत्सव आयोजना गरे ।
धरानको ऐतिहासीक कालखण्डलाई ढिलै भएपनि नगरपालिकाले उजागर गरेकोमा कृष्ण दाइ खुशी थिए । तर उनले अनौपचारिक कुराकानीमा मसंग ‘एउटा इतिहास उजागर गर्दा अर्को इतिहास ओझेलमा परेको’ बताएका थिए । 
शतवार्षिक महोत्सवले राणाकालमा धरानमा वस्ती विकास भएको इतिहासलाई उजागर गरेको थियो । त्यस बेला सुनसरी जिल्ला समेत छुट्टिएको थिएन । त्यस बेला राणा सरकारको सुब्बा रत्नप्रसाद श्रेष्ठले बन फडानी भएको धरानमा बस्ती बसाउन गरेको पहल स्वरुप विसं १९५७ सालदेखी बसोबास शुरु भएको थियो ।
वि.सं २०१५ सालको आम निर्वाचनबाट निर्वाचित वीपी कोइराला प्रधानमन्त्री रहेको लोकतान्त्रिक सरकारले पहिलो पटक सुनसरी जिल्ला छुट्याएर वि.सं २०१७ सालमा छुट्टै धरान नगरपालिका घोषणा गरेको थियो । त्यही नगरपालिकाको पहिलो निर्वाचनमा कृष्ण दाइ वडा सदस्य निर्वाचित भएका थिए ।
धरानको वैधानिक दस्तावेज सहितको इतिहास त्यहीँबाट सुरु हुने कृष्ण दाइको भनाई थियो । उहाँले यो कुरा त्यस बेला भने सार्वजनिक भने गर्नु भएन । कतिपय कुरामा फरक मत भए पनि उहाँ प्रकट गरिहाल्नु हुन्नथ्यो । अरुका कुरा बढी सुन्ने उहाँको स्वभाव थियो । अनौपचारिकरुपमा भने आफ्नो फरक धारणा रहेको संकेत गर्नु हुन्थ्यो ।
कृष्ण दाइको धरान स्थापनाबारेको धारणा सार्वजनिक नभए पनि तत्कालिन नगरपालिका सम्म पुगेको कुरा पछि थाहा पाइयो । विसं २०६७ मा धरान नगरपालिकाले धरान नगरपालिका घोषणा भएको ५० औं वर्ष पुगेको अवसरमा ‘धरान-डे’ आयोजना गरेपछि वि.सं २०१७ सालमा नगरपालिका घोषणालाई नै आधिकारीक बनाएको देखियो ।
धरान उपमहानगरपालिकाले तत्कालिन मेयर तिलक राईको कार्यकाल सम्म २०१७ सालमा नगरपालिका घोषणालाई निरन्तरता दिदैं धरान उत्सव मनाएको थियो । त्यो निरन्ततालाई भंग गर्दै पछिल्लो समय निर्वाचित मेयर हर्क साम्पाङले भने शतवार्षिकलाई जोडेर १२३ औं धरान डे शुरु गरेका छन् । 
शतवार्षिकलाई निरन्तरता दिँदा शतवार्षिकको २३ औं हुनुपर्नेमा १२३ औं उल्लेख हुँदा धरान नगरपालिकाको स्थापना कतिऔंलाई मान्दै जाने कुरा अन्योलमा परेको छ ।
लिम्बुवानप्रति चसो 
जीवनको उत्तरार्धमा कृष्ण दाइसंग प्रायः दैनिक भेट हुन्थ्यो । धरान-१ सिद्धिचरण मार्ग स्थित उहाँको घरकै छेउमा ‘मर्निङ टाइम्स’ दैनिक पत्रिकाको कार्यालय थियो । प्रायः विहान उहाँ आफै पत्रिका लिन आउनु हुन्थ्यो । दिउँसो राधिका भाउजुसंग कार्यालय भन्दा अघिल्तिरको पसल अगाडि हावा खान भुईमै बसेको भेटिनु हुन्थ्यो ।
दोश्रो संविधान सभामा संघिय संविधानमा पहिचान सहितको प्रदेशहरु बनाउनु बहसमा उहाँको बढी चासो रहेको बुझिन्थ्यो । कृष्ण दाइ धेरै कुरा बताउनु हुन्थेन, प्रश्न धेरै गर्नु हुन्थ्यो । मर्निङ टाइम्स पत्रिकामा लिम्बुवानका कुरा प्रकाशित भएको देख्नु भएपछि उहाँ भन्नु हुन्थ्यो ‘भाषा, संस्कृति, भूगोल र इतिहासको आधारमा लिम्बुवान प्रदेश हुनुपर्ने हो ।’
उहाँको जीवनका महत्वपूर्ण कालहरुको सूचिमा म जन्मेको साल २०१२ मा कृष्ण दाइ जनवादी युवा संघ धरानको सचिव भएको देखिन्छ । राजनीतिमा पुर्खा नै रहनु भएका उहाँका कुराहरु राष्ट्रिय, अन्तर्राष्ट्रिय अनुभवमा आधारित हुन्थ्यो । 
जीवन पर्यन्त कम्युनिष्ट राजनीतिमा विताउनु भएतापनि कृष्ण दाइमा जाति, भाषा, संस्कृति नै नेपाल र नेपालीको यथार्थ धरातल भएको कुराप्रति व्दिविधा थिएन । नेपाल भाषा एकेडेमी, नेपाल भाषा खल, सिद्धि नेवाः परिषद सहित नेवारी जातिय भाषा, संस्कृति सम्बद्ध संस्थामा उहाँको सम्बद्धताले त्यस्को पुष्टि गर्दछ ।
कृष्ण दाइले राजनीतिक जीवनमा भ्रमण गर्नु भएका २ दर्जन बढी देशहरुको सामाजिक, सांस्कृतिक, भाषिक र जातिय अवस्था र राजनीतिका बारेमा गहिरो अध्ययन गर्नु भएको थियो । समसामयीक राजनीतिक विकासका विषयमा प्रकाशित पुस्तक, दस्तावेजमा उहाँको पहुँचको श्रोत अचम्मको थियो ।
नेपालमा संविधान जारी भएपछिको पछिल्लो राजनीतिक अवस्थाप्रति कृष्ण दाइ सन्तुष्ट हुनुहुन्थेन । संविधानमा जुन किसिमको संघीयताको भावना थियो, त्यसलाई दलहरुले व्यवहारमा कार्यान्वयन नगरेकोमा उहाँको चित्त बुझेको थिएन । खासगरी संविधान निर्माणताका उठेको पहिचानका मागको सम्बोधान नहुँदा त्यस्ले ‘राख रहे अग्राख पलाए’ जस्तै समस्या रहने उहँको भनाई थियो ।               
नयाँ पुस्ताका लागि मिथक
वि.सं २०३० सालको दशकमा युवावयका हाम्रो पुस्ताले कृष्ण दाइलाई एक मिथकको रुपमा लिन्थ्यौं । धरानमा बिए पास गर्ने पहिलो मान्छे भएकोले उहाँलाई सबै ‘बिए कृष्ण’ भनेर नाम लिन्थे । उहाँसंग भएका किताबहरुको पुस्तकालय सबैका लागि चासो र चर्चाको विषय हुन्थ्यो । 
उहाँका बारेमा धेरैले धेरै किसिमका किस्सा सुनाउँथे । उहाँसंग भेट्न अगाडिबाट समय लिनुपर्ने चलन सबैका लागि रोचक संस्मरण बनेको अहिले पनि सुनाउछन् । अग्रिम खबर नगरी, समय नलिई भेट्न पुग्नेलाई उहाँले कुराकानी नगरी अर्को दिनको समय दिएर फर्काएको घट्ना पनि रोचक किस्सा बनाएर सुनाउने गरिएको पाइन्छ ।
कृष्ण दाइको समयको पाबन्दीसंग पहिलो पटक सामना गर्नेहरुमा धरानका स्थानिय बुद्धिजीविहरु मात्र होइन भीआइपीहरु पनि भएको किस्साहरु सुनिन्थ्यो । त्यसबाट फुर्सद भएको बेला खबर नगरी कसैसंग गफ गर्न जाऔं भन्नेहरुलाई भने राम्रै ज्ञान दिने गरेको अर्थमा त्यस्ता चर्चाहरु हुने गरेका हुन ।
कुनै विषयको अध्ययन, अनुसन्धानका लागि पुस्तकको खोजी गर्नेहरुका लागि अन्तिम गन्तव्य उहाँ नै हुनुहुन्थ्यो । उहाँ कसैलाई पुस्तक घर लैजान दिनु हुन्नथ्यो । उहाँकै पुस्तकालयमा अध्ययन गर्नुपर्ने शर्त कृष्ण दाइको हुन्थ्यो । अहिलेको जस्तो मोबाइलले फोटो खिचेर लैजाने चलन नभएको बेला अध्येतालाई दैनिक धाउनु पर्ने बाध्यता थियो ।
मध्य जीवनको पूर्वार्धकालमा कृष्ण दाइलाई धरानमा भट्न सकिन्न थियो । अधिकांश समय उहाँ विदेश भ्रमणमा रहेको थाहा पाइन्थ्यो । कतिपय समय काठामाण्डौमा रहेको बुझिन्थ्यो । छोटो समयको लागि धरान आउँदा उहाँसंग समय नहुनु त्यस बेला अस्वभाविक पनि मानिन्नथ्यो ।
राजनीतिक जमघटहरुमा प्रायः नदेखिने कृष्ण दाइ पछिल्लो समय धरानका साहित्यिक वैचारिक कार्यक्रमहरुमा सहभागी हुने गर्नु भएको थियो । उहाँको वौद्धिक विचार, अनुभव र विश्लेषण नयाँ पुस्ता लक्ष्यित हुन्थ्यो ।         
२०८० माघ १२
छैठौं वार्षिक स्मृति दिवसको अवसरमा प्रकाशित ‘धरानका बौद्धिक व्यक्तित्व कृष्णप्रसाद श्रेष्ठ’ स्मृति ग्रन्थबाट