वराहक्षेत्र :वराहक्षेत्रमा चाडबाड लक्षित गरेर नगर क्षेत्रका पसलमा नगरपालिकाले अनुगमन गर्न कार्यलाई निरन्तर गरी राखेको छ ।

वराहक्षेत्र नगरपालिकाले नियमित अभियान अन्तर्गत नगर क्षेत्रमा बजार अनुगमनलाई निरन्तरता दिएको हो उपभोक्ताहरूको अधिकार सुनिश्चितताको लागि बजार अनुगमनलाई प्रभावकारी बनाउने योजना अनुसार बजार अनुगमन गरिएको नगरपालिकाका आर्थिक विकास शाखाका प्रमुख मातृका तिवारीले बताए ।

बजारबाट उपभोक्ताहरूले पाउनु पर्ने गुणस्तरीय बस्तु, मूल्यको एकरूपता, कानुनी प्रमाणहरू, ४० माइक्रोन भन्दा कम प्लास्टिकका झोलाको लगायतका विषयहरूमा मङ्गलवार वराहक्षेत्र नगरपालिका वडा नं ९ राजा वास बजारका पसलहरू र वडा नं १० को प्रकाशपुर बजारमा रहेका पसलहरूमा नगरपालिकाले अनुगमन गरेको हो।

अनुगमन टोलीले होटेल ,किराना पसल, फलफूल पसल, मिठाई पसल , हाडवयर पसल अनुगमन गरेको तिवारीले जानकारी दिए । अनुगमनको क्रममा अधिक मात्रामा म्याद नाघेका चिसो पदार्थ भेटिएको छ । अनुगमनमा भेटिएको म्याद नाघेको चिसो पदार्थलाई नष्ट गरिएको थियो । अनुगमनको क्रममा म्याद नाघेका सामग्री नष्ट र म्याद नाघेका सामाग्री बिक्री गर्न राखेका पसललाई सचेतना, दर्ता प्रक्रिया , किचन क्षेत्रमा अनुगमन गरिएको थियो ।

अनुगमनको क्रममा उपभोक्ताको हित विपरीत सञ्चालन भएका पसलहरूलाई नियमको पालना, म्याद नाघेका सामाग्री राख्ने व्यापारीहरू सचेतना, ४० माइक्रोन भन्दा कम प्लास्टिकका झोलालाई नियन्त्रणमा लिइएको नगर उपप्रमुख नन्दकुमारी सुनुवारले बताइन ।

नगर उपप्रमुख नन्दकुमारी सुनुवार नेतृत्वको अनुगमन टोलीमा आर्थिक विकास शाखाका प्रमुख मातृका तिवारी, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय इनरुवा सुनसरीका खाद्य अनुसन्धान अधिकृत उज्ज्वल कोईराला,उद्योग वाणिज्य सङ्घ वराहक्षेत्रका प्रतिनिधि , नेपाल प्रहरी, नगर प्रहरी, पत्रकार लगायतको सहभागिता रहेको थियो।