धरान : धरान–१३ वडा कार्यालयले वडावासीका लागि निःशुल्क एम्बुलेन्स र निःशुल्क रगत परीक्षण सेवा सञ्चालन गरेको छ । राहतमुखी स्वास्थ्य सेवा स्वरूप आज मङ्गलवार देखी वडाले उक्त दुई निःशुल्क सेवा सुरु गरेको हो ।
वडाध्यक्ष नेत्र काफ्लेले वडावासीको सेवाका लागि नेपाल रेडक्रस सोसाइटी सुनसरी शाखा र रक्त सञ्चार सेवा केन्द्र धरानसँग मगलबार सम्झौता पत्र गर्दै हस्ताक्षर गरी उक्त निःशुल्क सेवा सुरु भएको घोषणा गरेका हुन ।
उनले भने ‘यो सेवा आजदेखि औपचारिक रूपमा सुरुवात भएको छ ।’ निःशुल्क एम्बुलेन्स सेवा सरोकारवालको लागि बिपी प्रतिष्ठानसम्म बिरामी लैजान र उपचारपछि डिस्चार्ज भएर घर फर्कँदा रहने उनले बताए । काफ्लेका अनुसार आर्थिक अवस्था कमजोर भएको कारण एम्बुलेन्स वा रगतको शुल्क तिर्न नसक्नेहरूलाई निःशुल्क सेवा पाउने छन्। ।
यसै गरी, बिरामीलाई आवश्यक रगत प्राप्त गर्न वडावासीले अब १ हजार ५० शुल्क तिर्नु नपर्ने उनले बताए । वडा स्तरमै राहतमुखी स्वास्थ्य सेवा सुरु गरेर वडावासीको स्वास्थ्य पहुँचलाई सहज बनाउन निःशुल्क सेवा सुरु गरिएको उनको भनाई छ ।
निःशुल्क सेवा प्राप्त गर्न चाहनेले १३ नम्बर वडामा बसोबास गरेको प्रमाण पुग्ने परिचयपत्र देखाउनु पर्नेछ । साथै, वडा कार्यालय मार्फत फोन सम्पर्क गराएर पनि सेवा प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ ।
एम्बुलेन्स सेवाका लागि नेपाल रेडक्रस सोसाइटी सुनसरीको फोन नम्बर ०२५–५७०२५८, ९८४२०२२०१५ वा ९८४२४५८३३१ मा सम्पर्क गर्न सकिनेछ। त्यस्तै रगत आवश्यक परेमा ९८४२०३२१२४ मा सम्पर्क गर्न वडा कार्यालयले अनुरोध गरेको छ ।
वडा स्तरमै सुरु भएको यो निःशुल्क एम्बुलेन्स र रगत सेवा धरानका अन्य वडाका लागि पनि प्रेरणादायी कदम बन्न सक्ने देखिएको छ ।