धरान : नेपाली काँग्रेसको कुनै पनि तहले यसपालि तिहारमा देउसी, भैलो नखेल्ने भएको छ । जेन-जी प्रदर्शन र बाढी पहिरो परी १०० जना बढीको मृत्यु भएको शोक मनाउन देउसी नखेल्ने भएको हो ।
जेन-जी आन्दोलनको नाममा धरान-२ स्थित काँग्रेस पार्टी कार्यालय रहेको ‘बलबहादुर राई/भीमबहादुर तामाङ स्मृति प्रतिष्ठान’को भवन अराजक समूहले तोडफोड र आगजनी गरेर २१ लाख रुपैयाँ भन्दा बढीको क्षति पुर्याएको छ ।
प्रतिष्ठानका अध्यक्ष पूर्व मेयर तिलक राईको सभापतित्वमा आइतबार बसेको बैठकमा पार्टीका नेतृत्वहरुले तिहारमा देउसी नखेल्ने निर्णय गर्दै भवनको पूनःनिर्माण मर्मत सम्भारका लागि सहयोग सङ्कलन गर्न १३ सदस्यीय समिति गठन गरेको हो ।
बैठकमा काँग्रेस कोशी प्रदेश महामन्त्री उमेश थापा, सुनसरी-१ क्षेत्रीय अध्यक्ष सुजेन्द्र तामाङ, प्रदेशसभा (क) अध्यक्ष अनिल श्रेष्ठ, प्रदेश सभा (ख) अध्यक्ष मुरारी भट्टराई, नगर सभापति श्याम पोखरेल, महासमिति सदस्यहरू लगायत उपस्थित थिए । बैठकमा क्षेत्रीय सभापति तामाङले देउसी नखेल्न गरेको प्रस्तावमा सबैले सहमति जनाएका थिए ।
तोडफोड लुटपाट
काँग्रेस पार्टी कार्यालय ‘बलबहादुर राई/भीमबहादुर तामाङ स्मृति प्रतिष्ठान’को भवन हो । अध्यक्ष राईका अनुसार अराजक समूहले भवनमा रहेको स्वर्गीय नेताहरूको लाखौँ लागतको धातुको प्रतिमा नष्ट गरिदिएका छन् । भवनका पङ्खाहरू, साउण्ड बक्स, कुर्सीहरू लुटेर लगेका छन् ।
भवनको शौचालय सबै तोडफोड गरेका छन् । वायरिङ र स्विच बोर्डहरू सबै फुटाएका छन् । कार्यालयका फर्निचरहरू लुटेका छन् भने कागजपत्र, माइन्युट बुकहरू केही कुर्सी बाहिर ल्याएर आगजनी गरेका छन् ।
अध्यक्ष राईले भने ‘कुल २१ लाख रुपैयाँ बराबरको क्षति भएको विवरण सहित अराजक समूहमा संलग्नहरूको नाम किटानी गरेका हामीले इलाका प्रहरीमा लिखित जाहेरी दिएका छौँ ।’ उनले बैठकमा पार्टीको नियमित कार्य सुचारु गर्न क्षतिग्रस्त भवनको पुनर्निर्माण तथा मर्मत सम्भार गर्न आव्हान गरे ।
पुनः निर्माण सहयोग समिति
बैठकले प्रतिष्ठानका अध्यक्ष राईकै संयोजकत्वमा काँग्रेसको सबै तहको प्रतिनिधित्व हुने गरी पूनःनिर्माण सहयोग सङ्कलन समिति गठन गरेको हो । समितिमा सचिव महेन्द्र प्रधान, सहसचिव राजेन्द्र राई, कोषाध्यक्ष शिला बज्राचार्य रहेका छन् ।
सदस्यहरूमा पर्वत राई, राजु साह, सन्ध्या श्रेष्ठ, हिमाल श्रेष्ठ, युनेश रानामगर, सुवर्णमोहन पलिखे र विक्रम तामाङ, विनोद आलेमगर र प्रशान राई रहने निर्णय सर्वसम्मतिबाट भएको छ ।
वैठकमै २ लाख रुपैयाँ
सहयोग सङ्कलनबारे छलफलकै क्रममा उपस्थित काँग्रेस पदाधिकारी, कार्यकर्ताहरूले २० हजार देखी ५ हजार रुपैयाँ सम्म आर्थिक सहयोग प्रदान गर्ने प्रतिबद्धता जाहेर गरेका थिए । अध्यक्ष राईका अनुसार यसरी प्रतिबद्धता जाहेर गरेको रकम करिब २ लाख रुपैयाँ पुगेको छ ।
उनका अनुसार यसअघि स्ववियु चुनावका बेला सङ्कलित रकम करिब १ लाख रुपैयाँ बचेको हुनाले उक्त रकम पनि भवन मर्मत, सम्भारमा खर्च गर्ने निर्णय गरिएको छ । समितिले सहयोग रकम सङ्कलन पारदर्शी बनाउन रसिद छापेर सबै वडा, भातृ सङ्गठन र शुभेच्छुक सङ्गठनहरूबाट पनि सहयोग लिनेछ ।