धरान : पानीमा च्याप्टो ढुङ्गा धेरै पटक उफार्ने अन्तर्राष्ट्रिय खेल स्टोनस्किपिङ च्याम्पियनसिपको तेस्रो संस्करण यसपालि वराहक्षेत्रको अमाह सिमसारमा आयोजना गरिने भएको छ ।

चतरा हाइकिङ समूह र अमाहा सिमसारको संयुक्त आयोजनामा प्रतियोगिताको आगामी कात्तिक ३ गते  हुने भएको छ ।

पर्यावरण प्रवर्धन र एकता, खेल पर्यटनमा विविधता भन्ने नारा सहित च्याम्पियनसिप आयोजना गरिएको आयोजकले जनाएको छ । खेलबाट जैविक विविधताको संरक्षण, स्थानीय पर्यटनको प्रवर्धन हुने शनिवार इटहरीमा भएको पत्रकार सम्मेलनमा चतरा हाइकिङ समूहले विश्वास व्यक्त गरेको छ ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्नेलाई क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपैयाँ पुरस्कार, ट्रफी प्रदान गरिने छ ।

आयोजक समितिका संस्थापक नवराज विष्टका अनुसार यो खेल सामान्यतया नदी, तलाउ, पोखरी र नहरमा खेलिन्छ । चेप्टो र गोलाकार ढुङ्गालाई पानीको सतहमा हुइँक्याएर खेलिने यस खेलमा ढुङ्गा कति पटक उफ्रिन्छ त्यसैको आधारमा विजेता छनोट गरिने उनले बताए ।

विश्वका विभिन्न देशमा यो प्रतियोगिता हुँदै आएको छ । नेपालमा भने स्टोनस्किपिङ प्रतियोगिता यसपालि तेस्रो वर्ष हो । यसअघि चतरा नहरमा प्रतियोगिता हुँदै आएको थियो ।

अन्तर्राष्ट्रिय क्षेत्रमा लोकप्रिय यो खेल अमेरिका, आयरल्यान्ड र स्कटल्यान्डमा वार्षिक प्रतियोगिताको रूपमा हुन्छ । गिनिज बुक अनुसार अमेरिकी नागरिक कर्ट स्टेइनरले सन् २०१३ मा एउटै ढुङ्गालाई ८८ पटक उफारेर विश्व कीर्तिमान कायम गरेका छन् ।

संयोजक लक्ष्मण कट्वालका अनुसार प्रतियोगिताको निर्णय क्यामेरा प्रविधिबाट गरिने छ । गत वर्षको प्रतियोगितामा स्थानीय राहुल लिम्बूले ८८ प्रतिस्पर्धीलाई पछि पार्दै प्रतियोगिताको उपाधि जितेका थिए । इन्ट्री राउन्डमा १२ स्किप गरेका उनले फाइनल राउन्डमा १४ स्किप गर्दै विजेता बन्न सफल भएका थिए ।