धरान : राष्ट्रपति भवन शिलत निवासमा आज शुक्रवार भएको सर्वदलीय बैठकका सहभागी राजनीतिक दलहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले देश, जनता, लोकतन्त्र र संविधानको रक्षाका लागि एक मात्र विकल्प प्रतिनिधि सभाको निर्वाचन भएको बताएका छन् ।
उनले अन्तरिम सरकारद्वारा घोषित आउँदो फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा केन्द्रित हुन सबै राजनीतिक दलहरूलाई आग्रह गरे । निर्वाचन आयोगले चुनावको कार्यतालिका समेत सार्वजनिक गरिसको छ ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार लोकतन्त्रको रक्षा गर्न सबै दलको जिम्मेवारी भएको बताउँदै राष्ट्रपति पौडेलले शान्ति, सुरक्षा र निष्पक्ष वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकार जिम्मेवार हुनुपर्ने स्पष्ट गरे ।
प्रधानमन्त्री सुशीला कार्की सहित अन्तरिम सरकारका मन्त्रीहरू समेत सहभागी बैठकमा राष्ट्रपति पौडेलले निष्पक्ष र भयरहित निर्वाचनका लागि आवश्यक तयारी र सुरक्षा प्रत्याभूति गर्न सरकारलाई सुझाव दिए ।
राजनीतिक दलहरूबिच कुनै दुबिधा वा अस्पष्टता भए खुला छलफल गरी समाधान खोज्न आग्रह गर्दै निर्वाचन बाहेक अन्य विकल्प खोज्ने प्रयास भए देश र लोकतन्त्र दुवैका लागि घातक हुने राष्ट्रपति पौडेको स्पष्ट भनाई थियो ।
बैठकमा नेपाली काङ्ग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा, नेकपा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शङ्कर पोखरेल, नेकपा माओवादी केन्द्रबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र सचिव वर्षमान पुन सहभागी थिए ।
रास्वपाबाट कार्यबाहक सभापति डिपी अर्याल र सह-महामन्त्री विपिनकुमार आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रवक्ता ज्ञानेन्द्र शाही र मिना लामा, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव धनश्याम भुषाल सहभागी थिए ।
जनता समाजवादी पार्टीकी रेणु यादव, जसपा नेपालका विद्युत बज्राचार्य र प्रकाश अधिकारी, जनमत पार्टीका चन्द्रकान्त राउत र डा। जयकुमार राउत, लोकतान्त्रिक समाजवादी पार्टीका ज्ञानेन्द्र झा र सर्वेन्द्रनाथ शुक्ला, नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरी तथा नेपाल मजदुर किसान पार्टीका सुनिल प्रजापति सहभागी थिए ।








































































