धरान : सरकारले १५ जना सहसचिवको सरुवा गर्दै धरान उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सहसचिव ज्ञानहरि घिमिरेलाई पठाएको छ।
हाल धरानमा उपसचिव अम्बिका प्रसाद चौलागाँई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका छन् । तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सहसचिव मातृका भट्टराई सरुवा भएपछि, उपमहानगरपालिकामा उपसचिवहरू प्रज्ञादेवी निरौला, भूपेन्द्र राई र अम्बिका चौलागाँईले प्रमुख प्रशासकीय अधिकृतको रूपमा जिम्मेवारी सम्हालेका थिए।
लामो समयपछि धरान उपमहानगरपालिकाले दरबन्दीअनुसारको सहसचिव स्तरको प्रमुख प्रशासकीय अधिकृत पाउने भएको हो।
धरान आउन लागेका सहसचिव घिमिरे यसअघि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा कार्यरत थिए।
गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) का १५ जना अधिकृतहरूको सरुवा गर्ने निर्णय गरेको हो। सो निर्णयको जानकारी सञ्चार, सूचना तथा प्रविधि मन्त्री जगदीश खरेलले दिएका हुन्।
मन्त्री खरेलका अनुसार सङ्घीय मामिला तथा प्रशासन मन्त्रालय, गृह मन्त्रालय, खानेपानी मन्त्रालय, चिकित्सा शिक्षा आयोगलगायतका निकायमा कार्यरत सहसचिवहरूको एकैपटक सरुवा गरिएको हो।
त्यससँगै नेपाल न्याय सेवाका ८ जना सहसचिवहरूको पनि सरुवा भएको सरकारका प्रवक्ता खरेलले जानकारी दिएका छन्।
“राजपत्राङ्कित प्रथम श्रेणीका १५ सहसचिवहरूको सरुवा गर्ने र उनीहरूलाई विभिन्न मन्त्रालय तथा निकायमा कामकाजका लागि खटाउने निर्णय भएको छ,” मन्त्री जगदीश खरेल भने।



































































