इटहरी : मोरङको सुन्दरहरैचा ७ स्थित गणेशपुरमा क्रसर निर्माणको काम धमाधम भइरहेको छ । सुनसरीको धरानका सुनिल अग्रवालको जग्गामा उनी सहित स्थानीय काँग्रेस नेताहरूको लगानीमा क्रसर खुल्न लागेको हो । बस्ती र विद्यालयको नजिकै क्रसर खुल्ने भएपछि स्थानीयहरू आक्रोशित बनेका छन् । 

तराई क्षेत्रमा खोला तथा नदी किनारबाट ५ सय मिटर र वन, घना बस्ती तथा सार्वजनिक भवन, विद्यालय, मन्दिरबाट २ किलोमिटर टाढा मात्र क्रसर खोल्न पाउने प्रावधान छ । निर्माणाधीन क्रसरको हकमा विद्यालय, मन्दिर, बस्ती, सार्वजनिक भवन र खोला ५ सय मिटरको दुरीमा पर्छन् । २० वर्ष अगाडीको वातावरण प्रभाव मूल्याङ्कन (ई आइए)  प्रतिवेदनका आधारमा गछिया इस्ट्रन एग्रिगेट एन्ड स्टोन मिल्स (क्रसर) निर्माण गर्न लागिएको हो । २० वर्ष अगाडी एकान्त रहेको सो क्षेत्रमा अहिले घना बस्ती विकास भएको छ ।  

यसअघि २०६७ सालमा पनि क्रसर निर्माणको तयारी गरेका व्यवसायी अग्रवाल स्थानीयको विरोधले पछि हटेका थिए । नजिकै रहेको साजीलाल माध्यमिक विद्यालयमा प्रत्यक्ष असर पुग्ने भएपछि क्रसर खुल्न सकेको थिएन । प्रतिवेदनमा उत्खनन गर्ने कच्चा पदार्थको गुणस्तर, परिमाण, समयसीमा, स्रोतको विवरण र भौगोलिक अवस्थितिको विवरण उल्लेख गरिएको छैन । यस पटक स्थानीय नेताहरूलाई साझेदारीमा राखेर उनले क्रसर खोल्ने तयारी गरेका हुन् । 

वातावरण संरक्षण ऐन २०६७ र ढुङ्गा, गिट्टी, बालुवा उत्खनन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ विपरीत क्रसर खुल्न लागेको भन्दै स्थानीयले विरोध जनाएका छन् । गणेशपुर, नमुना, न्यु लक्ष्मी नारायण र बेलगाछी टोल विकास संस्थाका तीन सय बढी घरधुरीले संयुक्त रूपमा क्रसर सञ्चालन गर्न नदिन दबाब दिएका हुन् । 

सुन्दरहरैँचा नगरपालिकामा टोल विकास समितिहरूले बस्तीमा गम्भीर क्षति पुग्ने भन्दै निवेदन दिएका छन् ।  राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति लगायत अन्य सरोकारवाला निकायलाई गुहार्न स्थानीय लागि परेका हुन् । गणेशपुर टोल विकास संस्थाका अध्यक्ष मातृका दाहालका अनुसार अन्तर्राष्ट्रिय सिमानाको दुई किलोमिटर दुरी बाहेक कुनैपनि मापदण्ड पुरा नहुने भएकाले निर्माणाधीन क्रसर बन्द गर्नैपर्ने अवस्था छ । 

सञ्चालक अग्रवालले क्रसर सञ्चालन भएपछि स्थानीयले रोजगारी पाउने र त्यस क्षेत्रको विकास हुने बताएका छन् । केही अन्य व्यवसायीले अनावश्यक रूपमा विवाद सृजना गराएको उनको भनाइ छ । 

स्थानीय सरकारसँग अनुमति समेत नलिएको सुन्दरहरैचा नगरपालिकाका मेयर केदार प्रसाद गुरागाईँ बताउँछन् । क्रसर बन्द गराउन टोल विकास संस्थाको उजुरी परेको कारण सरकार गम्भीर भएको र मापदण्डलाई ख्याल गरेर मात्र अगाडी बढ्ने उनले बताए । 

वडा नम्बर ७ वडाध्यक्ष भुवन मगर आफूलाई जानकारी नभएको कारण टोल विकासको विरोधपछि मात्र थाहा पाएको बताउँछन् । क्रसर सञ्चालकहरू अहिलेसम्म सम्पर्कमा नआएकाले आफूलाई मतलब नभएको उनको भनाइ छ । 

भदौ १५ गते आइतबार मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, मेयर गुरागाईँ लगायत सरोकारवाला निकायले निर्माणाधीन क्रसरको अवलोकन गरेका छन् ।

gachhiya newsGachhiya news 2