धरान : विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शनिवार धरानको विजयपुरमा बसेको लिम्बु पत्रकार सङ्घ केन्द्रीय समितिको बैठकले ३ बुँदे विजयपुर घोषणापत्र जारी गर्दै मिडियामा समावेशी र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेको छ ।

सञ्चार माध्यम, सञ्चार गृह र राज्यको ऐन, कानुनहरू आदिवासी जनजाति, अल्पसङ्ख्यक र सीमान्तकृत वर्ग भूगोलमैत्री बनाउन बैठकले उक्त माग गरेको हो ।

तेह्रथुमको वसन्तपुरमा हालै सम्पन्न लिम्बु पत्रकार सङ्घको तेस्रो महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठक ऐतिहासिक किरातकालीन राजधानी विजयपुरको हुक्पाचोङबाङ मेमोरियल पार्कमा सम्पन्न भएको हो ।

वैठकव्दारा जारी घोषणापत्रको दोस्रो बुँदामा ताप्लेजुङको प्रसिद्ध मुन्धुमीस्थल सेममुक्त गोक/मुक्तोमाङ/मुक्कुमलुङ/पाथीभरामा निर्माण गर्न लागेको केबलकार परियोजना आदिवासी याक्थुङ/लिम्बु समुदायको आदिम मूल्य मान्यता, रैथाने दर्शन,पर्यावरण, परम्परा विपरीत रहेकोले त्यसको सशक्त बौद्धिक र प्राज्ञिक हिसाबले सञ्चार माध्यमहरूमा प्रतिरोध गर्ने नो केबलकार अभियानमा ऐक्यबद्धता जाहेर गरेको छ ।

साथै ऐतिहासिक विजयपुर दरबार परिसरमा रहेका ऐतिहासिक, पुरातात्त्विक र सांस्कृतिक महत्वको संरचनाहरूको संरक्षण, सम्वद्र्धन र प्रचार प्रसार गर्न राज्यका तिनै तहका सरकार समक्ष सम्पदाका रूपमा सूचीकरण गर्न माग गरिएको छ ।

सङ्घका केन्द्रीय अध्यक्ष सन्देश सुब्बाको अध्यक्षतामा भएको केन्द्रीय बैठकमा अतिथिहरू वरिष्ठ पत्रकार हर्ष सुब्बा, प्रदीप मेन्याङवो, निलिफा सुब्बा, भैरव आङ्ला, चुम्लुङ सुनसरीका अध्यक्ष मोहन हुक्पाचोङबाङ समसामयिक सुझाव स्वरूप मन्तव्य व्यक्त गरेका थिए ।

बैठकले सङ्घको सङ्गठनात्मक विस्तार सहित लिम्बु समुदायका नयाँ पुस्तालाई पत्रकारितामा आकर्षित गर्न नीति तथा कार्यक्रमहरूको अवधारण पारित गरेको छ ।

बैठक सङ्घका महासचिव जीवनकुमार योङङले सञ्चालन गरेका थिए । बैठकमा केन्द्रीय समितिका पाहुनाहरूको सागत सुनसरी जिल्ला अध्यक्ष कुशल कुरम्भङले गरेका थिए ।