धरान : निरन्तरको वर्षाका कारण खोलाको पानी धमिलो भएकाले धरान उपमहानगरपालिकाका अधिकांश वडामा खानेपानीको चरम अभाव भएको छ । खानेपानी स्रोतमा कमी नभई व्यवस्थापन प्रणाली कमजोर भएकै कारण समस्या गम्भीर बनेको स्थानीयवासी र व्यवसायीहरूले आरोप लगाएका छन् ।

धरान-१४ का डा. राजेन्द्र शर्माले सामाजिक सञ्जालमार्फत धारामा हप्ता दिनदेखि पानी नआएको गुनासो गरेका छन् । उनले खानेपानी बोर्डप्रति व्यङ्ग्य गर्दै लेखेका छन्, “अध्यक्षज्यूको ‘भ्या भ्या’ गीत त तयार भइसकेछ, अब पानीतिर पनि ध्यान दिनु भए भने राम्रो हुन्थ्यो ।”

शर्माकै पोस्टमा उपप्राध्यापक राजेश विद्रोहीले टिप्पणी गर्दै बोर्डका अध्यक्षप्रति व्यङ्ग्य प्रकट गरेका छन् । उनले भने, “अध्यक्षज्यू अहिले पीडामा हुनुहुन्छ, मुक्त हुन केही समय लाग्ला । यस्तो कठिन समयमा साथ दिनु हाम्रो कर्तव्य हो ।”

धरान-१६ का सोम प्रतीक्षा साधुटारले चार दिनदेखि पानी नआएको बताए । उनले भने, “१६ नं. वडाको विकास मार्गमा चाहिँ हिजो बेलुकी प्रशस्तै पानी आएको छ, हामी खुसी छौँ । गीत चाहिँ सुन्न पर्नि भो,” भन्दै पानी नआएको विषयलाई सामाजिक सञ्जालमा व्यङ्ग्यात्मक धारणा राखे ।

धरान–१२ का एक होटेल व्यवसायीले भने ट्याङ्करबाट समेत पानी किन्न नपाएको गुनासो गरे । उनका अनुसार, “धारामा पानी नआएको हप्ता दिन भयो, व्यवसाय नै सङ्कटमा परेको छ ।” त्यस्तै, धरान–१० को बुढासुब्बा लाइनमा पनि हप्ता दिनदेखि धारामा पानी नआएको स्थानीयवासीले बताएका छन् । एक होटेल व्यवसायीले भने, “हिउँदमा स्रोत सुक्दा पानी नआएको होला भन्ने लाग्थ्यो । तर, बर्खामा नआउनु भनेको खानेपानी बोर्डकै लापरबाही हो,” भने ।

धरानका वडा नं. १, ७, ८, १५, १७ लगायतका क्षेत्रमा पनि ४५ दिनदेखि खानेपानी नआएको गुनासो स्थानीयवासी र होटेल व्यवसायीहरूले सार्वजनिक गरेका छन् ।

धरान खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष राजु पोखरेलले खानेपानीको समस्या भएको स्वीकार गरेका छन् । उनका अनुसार, निरन्तरको वर्षाका कारण खोलाको पानी धमिलो भई आएकाले आपूर्ति प्रभावित भएको हो । उनले भने, “हिजो धेरै ठाउँमा पठाएका थियौँ, अब अवस्था सहज बन्छ ।”

धरानमा बर्खामै देखिएको खानेपानी अभावले व्यवस्थापन प्रणालीप्रतिको असन्तुष्टि बढाएको छ । स्थानीयवासीले तत्काल आपूर्ति सहज बनाउने माग गरेका छन् भने व्यवसायीहरूले कामकाज नै प्रभावित भएको गुनासो गरेका छन् ।