धरान : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुधार गर्न त्यहाँका कर्मचारी र आम सेवाग्राहीको गुनासो र सुझावलाई आधार मानेर आवश्यक कदम चालिने भएको छ ।

उपकुलपति प्राडा.विक्रमप्रसाद श्रेष्ठले गुनासो र सुझाव सुनवाइ गर्न विभागीय प्रमुखहरू रहेको ५ सदस्यीय समिति नै गठन गरेका छन् ।

वीपीमा उपचारका लागि आउने बिरामी, कुरुवा सेवाग्राही र कर्मचारीले गरेको गुनासो र सुझाव लिने कार्य अव औपचारिकतामा मात्र सीमित नराख्ने भएको हो ।

समितिले आम जनसमुदाय तथा प्रतिष्ठान भित्रैबाट प्राप्त सुझाव तथा गुनासोहरूको अध्ययन विश्लेषण गरी जायज ठहर भएका कुरालाई उपकुलपति समक्ष पेस गर्ने छ । समितिको बैठक हप्ताको एक पटक बस्ने छ । उपकुलपतिले जायज गुनासो र सुझावको आधारमा सुधारका नीतिगत निर्णय लिनेछ ।

उपकुलपति श्रेष्ठले गत: साता सञ्चारकर्मीहरूको भेटघाटमा भनेका थिए ‘ठुलो संस्था सुधार गर्न सानो कर्मचारी, सामान्य मानिसलाई खट्केको कुरा र सुझाव महत्त्वपूर्ण हुन्छ ।’ वीपीको अव्यवस्थाले बेलामा उपचार नपाउने पिर मर्का निमुखाहरूले भोग्नु पर्ने तथ्यलाई उपकुलपतिले बुझेर सुनवाइ समिति निर्माण गरेको बुझिन्छ ।

समिति प्राडा. बालकृष्ण भट्टराईको संयोजकत्वमा गठन भएको हो । उनी एनेस्थेसियोलोजी र क्रिटीकल केयर मेडिसिन विभाग प्रमुख हुन । सदस्यहरूमा साइकेट्रि, नर्सिङ विभागका प्राध्यापक समी लामा, एनोटोमी विभाग प्रमुख प्राडा.सरुन कोइराला, पब्लिक हेल्थ प्रमुख ताराकान्त भगत, अस्पताल उपप्रमुख डा.इन्द्र लिम्बु रहेका छन् ।

BPKIHS Notice