धरान : धरानको एमाले पार्टी कार्यालयमा तोडफोड, आगजनी हुँदा ढुङ्गा हानेको फुटेज युट्युबमा भाइरले भएपछि धरान–१ का विमल शाक्यले त्यस बाहेक अन्य घट्नामा आफू संलग्न नभएको स्पष्टीकरण दिएका छन् ।

शाक्य धरानमा परिचित छापाखाना व्यवसायी, पत्रकार, बुद्ध धर्मका अनुयायी विपश्यना ध्यानका प्रशिक्षक समेत हुन । भदौ २४ गतेको उक्त घटना हेर्न जाँदा युट्युबरहरुले खिचेको भिडिओ फुटेज भाइरल भएपछि परिवारमा तनाव भएको आइतबार साँझ उनले सञ्चारकर्मीहरूलाई बताए ।

सोही भिडिओको आधारमा उनी धरानमा भएका तोडफोड आगजनीका घट्नामा संलग्नहरूको पहिचान खुलेको भनी मिडियामा समाचार समेत आएपछि परिवारमा तनाव बढेको हो ।

शाक्यले स्पष्टीकरणको वक्तव्य पढ्दै भने ‘बालबालिकाहरूको हत्या भएको घट्नाले आवेशमा आएर आक्रोश स्वरूप सानो ढुङ्गासम्म हानेको हुँ ।’ त्यस बाहेक मेरो यो विरोध आन्दोलन र सो सम्बन्धी अन्य कुनै पनि घटनामा बिल्कुलै कुनै सहभागिता र संलग्नता छैन ।’

उक्त घटनालाई अतिरञ्जित गरी मैले नै यो आन्दोलनको अगुवाइ गरेको भन्ने जस्तो गरी भ्रामक समाचार आएकोमा घोर आपत्ति प्रकट गरे । वक्तव्यमा शाक्यले भनेका छन् ‘अन्य घटनामा मेरो संलग्नता नरहेको सम्बन्धित सबै पक्षमा अपिल समेत गर्दछु ।’ उनले त्यस बारे सत्य तथ्य बुझ्न र छानबिन गर्न आग्रह समेत गरेका छन् ।