इटहरी : भाटभटेनी सुपर मार्केटको इटहरी शाखामा किनमेल सुरु भएको छ । जेनजी आन्दोलनको क्रममा तोडफोड र चोरीबाट क्षति बेहोरेको इटहरी भाटभटेनीले सेवाग्राहीको आवश्यकतालाई मध्यनजर गर्दै शनिवारबाट विक्री सुरु गरेको हो । 
शनिवार दिउँसो २ बजेबाट नियमित रूपमा किनमेल सुरु भएको भाटभटेनी व्यवस्थापनले जनाएको छ ।
२४ गते रातीसम्म आगलागीको प्रयास गरेका आन्दोलनकारीबाट स्थानीयले भाटभटेनीलाई जोगाएका थिए । स्थानीयलाई धन्यवाद दिँदै भाटभटेनीले सेवाग्राहीलाई सेवा लिनको लागि अनुरोध गरेको छ । कोशी प्रदेशमा रहेका पाँच वटा शाखा मध्ये इटहरी मात्र सुचारु भएको छ ।
दमक, बिर्तामोड, धरान र विराटनगरमा आगलागी भएको कारण अझै केही महिना पछि मात्र सञ्चालनमा आउने बताइएको छ ।
उपत्यका बाहिर  नेपालगन्ज, जनकपुर, बुटवल, वीरगन्ज, धनगढी, इटहरी र भैरहवा शाखामा सेवा सुरु भएको हो ।
उपत्यका भित्र टोखा, सातदोवाटो, पाटन, कलङ्की, अनामनगर, सानागाँउ, राधे राधे, बालाजु र त्रिपुरेश्वर शाखामा आजैबाट सेवा दिन थालिएको छ ।