• एड्रिनो दिनु थापा

प्रिय भाटभटेनी........

जनमानसको भवसागर सँगै

अखण्ड परिवर्तनको नारा सँगै

देशमा अराजकताले जन्म लिएपछि

शत्रु जन्मिएछ त्यही भवसागरको कोखबाटै

।।१।।

इतिहास जल्यो, शासन फुट्यो हाम्रो सबै

न्याय तोडियो देशै भरिको कारागार सँगै

प्रतीक, शान र तिम्रो स्वाभिमान माथि पनि

खै..ǃ कुन दैत्यको नजर पर्‍यो कठै

।।२।।

आज तिमी जलेर तिमीले शत्रुलाई शीतलता दियौ

तिमी फुटिदिएर तिमीले शत्रुलाई शान्ति दियौ

तिमी लट्टिएर तिमीले शत्रुको प्यास मेटायौ...

आज भग्नावशेष मात्र छौ तर तिमीले सबैको मन जित्यौ

।।३।।

प्रिय भाटभटेनी...आज केवल तिमी मात्र जलेनौ

तिमी सँगै ती हजारौँ हजारका रोजगारी जल्यो

तिमी जली रह्यौ त्यही हजारका चूलाहरू निभिरह्यो

तिमी रापमा सेकिनु पर्दा धेरैको जिन्दगी नै सेलाई गयो

।।४।।

आज केवल तिमी मात्र फुटेनौ

तिमी सँगै ती हजारौँ हजारका सपना फुट्यो

आज केवल तिमी मात्र लुट्टिएनौ

ती हजारौँ हजारका जिन्दगी नै लट्टियो

।।५।।

प्रिय भाटभटेनी...

आज तिमी मात्र धूवाँको मुस्लो भित्र रुमलिएनौ

स्वदेशमा नै रोजगारी गर्न चाहने

ती हजारौँ युवाहरूको काँचो सपना नै रुमलियो

।।६।।

आज केवल तिमी मात्रै ढलेनौ

समाजकै प्रतीक, आशाहरू पनि जिउँदै ढल्यो

आज केवल तिमी मात्रै रित्तिएनौ

समाजकै अमूल्य शान पनि तिमी सँगै रित्तियो

।।७।।

प्रिय भाटभटेनी....

तिमीले फेरि पनि उठ्नुछ

त्यही सपना, आशा र दृढता सँगै

समाजलाई बाटो देखाउनु छ

त्यही ठाउँमा जाग फेरि शत्रुलाई जितेर देखाउनु छ

।।८।।

तिमीले टेकेको धर्तीमा अब दैत्यहरू डराउनु पर्छ

यति विशाल रूप लिएर फेरि तिमी यहाँ जन्मिनु पर्छ

हिम्मत र जोस सँग तिमी यहाँ उभिनु पर्छ

देशको स्वाभिमान र शान बनी तिमी यहाँ बाच्नु पर्छ

।।९।।