धरान : धरानमा जेन-जी आन्दोलनको नाममा भदौ २४ गते धरानमा गरिएको तोडफोड र आगजनीमा संलग्नहरूका विरुद्ध आज मङ्गलवार इलाका प्रहरी कार्यालयमा किटान जाहेरी दिइएको छ ।
धरान-८ स्थित होटेल कञ्चनजङ्घामा आगजनीमा संलग्न १३ जना किटानी गरी होटेल सञ्चालक तथा पूर्व मेयर मनोजकुमार मेन्याङबोले दिएका हुन । जाहेरी दिन मेन्याङबोसंगै राजनीति दलका स्थानीय नेताहरू, अन्य पीडितहरू र ठुलो सङ्ख्यामा पार्टी कार्यकर्ता इलाका प्रहरी कार्यालय पुगेका थिए ।
किटानी जाहेरीमा उल्लेख गरिएका नामहरू सार्वजनिक गरिएको छैन ।
नाम उल्लेख गर्दा अपराधमा संलग्नहरू फरार हुन भएकोले दिन नमिल्ने भएको प्रहरीले बतायो । सञ्चारकर्मीहरूलाई जाहेरी पत्रको फोटो पनि खिच्न दिइएन ।
मेन्याङबोका अनुसार तोडफोड आगजनीमा संलग्न २ जना हिजो सोमवार आत्मसमर्पण गर्दै आएका थिए, उनीहरूलाई इलाका प्रहरीको जिम्मा लगाइएको छ । तर उनीहरूको नाम पनि सार्वजनिक गरिएको छैन । पूर्व मेयर मेन्याङबोले भने ‘अहिले १३ जनाको नाम सहित किटानी जाहेरी दिएको समाचार मात्र लेख्नु होला ।’
मेन्याङबोसंगै जाहेरी दर्ता गर्न पुगेका पूर्व मेयर तिलक राईले धरानमा भएको आक्रमणका पीडितहरूले छुट्टाछुट्टै किटानी जाहेर दिने तयारी गरेको बताए । उनका अनुसार भोली बुधवार शोक दिवसको बिदा भएकोले पर्सी बिहिवार पिडित र सर्वपक्षीय नागरिक बचाउ अभियानका सबै इलाका प्रहरीमा भेला हुनेछन् ।
सञ्चालक मेन्याङबोले कञ्चनजङ्गा होटेल तोडफोड गरी आगजनी गर्दा ६ लाख रुपैयाँ नगद लुटिएको जाहेरीमा उल्लेख भएको बताए ।
भदौ २४ गते जेनजी आन्दोलनको नाममा भएको आक्रमणको तस्बिर र भिडियो प्रमाण भएको उनको भनाई छ ।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जबेगुले आन्दोलनमा तोडफोड र आगजनीमा सलग्नहरुको खोजी कार्य तीव्र बनाइएको बताए । उनले भने ‘आगजनी र तोडफोडमा संलग्न सबैलाई पक्राउ गरी कारबाही गर्न प्रहरी प्रतिबद्ध छ ।’
उनले आगजनी र तोडफोडमा कोही व्यक्तिहरूको पहिचान भैसकेको बताउँदै भने ‘उनीहरूको नाम समेत किटानी जाहेरी दिइएकोले सबैको पहिचान गरी पक्राउ गर्न र कानुनी कारबाही गर्न माग गरिएको छ ।’
किटानी जाहेरी दिन मेन्याङबोसंगै इलाका प्रहरी पुगेका राजनीतिक दलहरूका नेताहरूले धरानमा भएको सबै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुन अनुसार कारबाही गर्न माग गरेका छन् ।
सोही दिन धरानमा नेकपा एमाले, नेपाली काँग्रेस, माओवादी केन्द्रका कार्यालयहरू, भाटभटेनी सुपर मार्केट, धरानका पूर्व उपमेयर मञ्जु भण्डारी, पूर्व प्रतिनिधि सभा सदस्य जयकुमार राई, कार्यपालिका सदस्य सिर्जना नेपाल, काँग्रेस नेता उमेश थापा र सुजेन्द्र तामाङका घरमा आगजनी गरिएको थियो ।
उक्त सबै घटनाको सत्य तथ्य छानबिन गरी संलग्नलाई कानुनको दायरामा ल्याउन र पीडितलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सर्वपक्षीय नागरिक बचाउ अभियानका धरानले सरकारलाई आग्रह गरेको छ ।