धरान : धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङ आज आइतवार विहानै प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न काठमाडौँ बालुवाटार पुगेका थिए । तर उनलाई प्रधानमन्त्रीले भेट नदिएको ‘सेतोपाटी अनलाइन’ले समाचार दिएको छ ।
समाचारमा ‘नगर प्रमुख साम्पाङ प्रधानमन्त्री सुशीला कार्कीलाई गृहमन्त्री माग गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेको खुलेको छ । उनी आज आइतबार बिहानै ७ बजेतिर बालुवाटार पुगेका थिए’ भनिएको छ ।
उनले प्रधानमन्त्री कार्कीसँग भेट्न अनुमति मागेका थिए । बालुवाटारका सुरक्षाकर्मीहरूले साम्पाङलाई सुरूमा भित्र प्रवेश गर्न दिएका थिएनन् । लामो समयसम्म पनि पर्खेर साम्पाङले भेट्न अनुरोध गरेपछि सुरक्षाकर्मीले परिसरभित्र प्रवेश दिएको बालुवाटार स्रोतले बताएको समाचारमा उल्लेख छ ।
समाचार अनुसार उनी बिहान ७ बजेदेखि १ बजेसम्म बालुवाटारमै कुरेर बसेका थिए । उनलाई ‘अहिले प्रधानमन्त्री कार्कीले समय नलिएका व्यक्तिहरूसँग नभेट्ने बताएकी’ जानकारी दिएपछि साम्पाङ भेट्न नपाइ फर्किए ।
यसअघि नगर प्रमुख साम्पाङ प्रधानमन्त्रीको दाबी गर्दै सैनिक मुख्यालय पुगेर नेपाली सेनाका प्रधान सेनापति अशोक राज सिग्देलसंग भेट गरेका थिए ।
प्रधानमन्त्री नियुक्ती बारे एउटा यस्तो स्टाटस लेखेका थिए ‘विदेशी शक्तिलाई ढोगेर मात्रै नेपालको प्रधानमन्त्री बन्ने चलन छ रे सुन्दै आएको बुझ्दै आएको । तर म यही देशको दाजुभाइ दिदीबहिनी र युवाहरूको साथले प्रधानमन्त्री बन्न सक्नु पर्छ भन्ने मान्छे । एक थान पदका लागि आफ्नो स्वाभिमान दाऊमा राख्दिन । जय मातृभूमि ।’