धरान : लिम्बु जातिको आङबुहाङ थर वंशावली पुस्तकमा तथ्यलाई गलत रूपमा प्रकाशित गरिएको विषयले आज शनिवार आयोजित विमोचन समारोहका बिच चर्को विवाद उत्पन्न गरेको छ ।
वंशावलीमा सन्तानको सबै भन्दा जेठालाई कान्छा र कान्छालाई जेठा बनाएर प्रकाशित गरिएकोमा आपत्ति गर्दै त्यसमा सुधार नगरी विमोचन गर्न नहुने माग आङवुहाङ समाजका केन्द्रीय सचिव तेजबहादुर आङवुहाङले गरेका छन् ।  
आङबुहाङ समाजका केन्द्रीय अध्यक्ष पर्शुराम आङबुहाङ र वंशावली प्रकाशन समितिका केही पदाधिकारीहरूले एकलौटी ढङ्गले वंशावली प्रकाशन गरी विमोचन कार्यक्रम राखेको सचिव तेज बहादुरले बताए । 
धरान-८ ताप्लेजुङ सरोकार समाजको हलमा आज शनिवार विमोचन अघि सोही विषयमा विवाद भएपछि केन्द्रीय अध्यक्ष पर्शुराम पक्ष र सचिव तेजबहादुर पक्ष बिच हात हालाहालको स्थिति उत्पन्न भएको थियो ।
आयोजक पक्षले लालीगुराँस नगरपालिकाका मेयर अर्जुनबाबु माबुहाङलाई प्रमुख अतिथिको रूपमा उपस्थित गराएर वंशावली पुस्तकको विमोचन गर्दै छन् । असन्तुष्ट पक्षले वंशावली पुस्तक तयार गर्नु अघि विज्ञको रूपमा माबुहाङ सँग छलफल गर्ने प्रस्ताव राखेकोमा केन्द्रीय अध्यक्ष पक्षले अस्वीकार गरेको महासचिव तेजबहादुरले बताए ।
उनले भने ‘आङबुहाङ समाजका ७५ प्रतिशत दाजुभाइ विमोचन कार्यक्रम बाहिरै छौँ, हामीलाई भित्र जान बन्देज लगाइएको छ ।’ वंशावली प्रकाशनमा हाम्रो सहमति छैन भन्दै तेज बहादुर आङबुहाङले भने “केन्द्रीय अध्यक्षले दम्भ र गैह्रजिम्मेवार ढङ्गले काम गरेका छन् ।’ 
उनले ७५ प्रतिशत दाजुभाइलाई असन्तुष्ट बनाउँदै ६ वटा वंशलाई बेवास्ता गर्दै उनीहरूले वंशावली प्रकाशनमा सन्तानकै सबैभन्दा जेठालाई कान्छो,कान्छोलाई जेठो बनाएको दाबी गरेका  छन् । उनका अनुसार साइनो मिलेको छैन, आङवुहाङको इतिहास समेटिएको छैन । 
समिति वैधानिक पनि वैधानिक नभएको दाबी गर्दै उनले २०७८ सालमा बनेको समितिको ३ अवधि वर्ष हाल २०८२ मा सकिसकेको बताए । आर्थिक अनियमितता छ, पारदर्शिता छैन । बैङ्किङ कारोबारमा कोषाध्यक्ष अनिवार्य हुनुपर्ने कोषाध्यक्षको नाम पनि नभएको बताइएको छ ।
साधारण सभा नगरी पुरानै समितिले बैङ्कमा व्यक्तिगत एकाउन्टमा संस्थाको करोडौँ रुपैयाँ चलाई रहेको आरोप समेत महासचिव तेजबहादुरले लगाए । 
आङवुहाङ समाजका केन्द्रीय सदस्य खगेन्द्र आङबुहाङले वंशावली प्रकाशन गर्न देश विदेशबाट करोडौँ रकम उठाएको र आर्थिक लेखा जोखा नगरी आर्थिक अनियमितता गरेको बताए । ७० लाख प्लस देश विदेश बाट करोडौँ रकम सङ्कलन गरेको आर्थिक अनियमितता गरेको उनको आरोप छ ।
खगेन्द्र आङबुहाङका अनुसार वंशावली सबैको सहमतिमा बन्नु पर्ने तर बनेन । इतिहास नकेलाई सुब्बा अनगिन्ती भएको अवस्थामा १८३१ अगाडीको पुस्ता देखि वंश केलाउनु पर्ने अवस्थामा १८८६ पछाडि भएको सन्तान चैँ जेठो भनिएको छ । 
उनले भने ‘यो स्वीकार्य छैन उनीहरू सुब्बालाई स्थापित गर्न खोज्दै छन् ।’ वंशावलीमा सिरियल नभएको कसरी जेठो पुस्ता हुन्छ ? उनको प्रश्न छल । वंशावलीमा ५ पुस्ता छैन ।
केन्द्रीय सदस्य खगेन्द्र आङबुहाङका अनुसार वंशावलीमा सहमति र सहकार्य नभएपछि २०८२ भदौ १५ गते सुनसरी जिल्ला प्रशासन कार्यालयमा संस्थाको सम्पूर्ण गतिविधि रोक्न आदेश दिए पनि उनीहरूले अटेर गर्दै वंशावली प्रकाशन गरेको बताए ।