धरान: चालु संसद अधिवेशनबाट प्रदेश नं १ को राजधानी र नामकरण तोक्ने कसरत भइरहदा लिम्बुवान स्प्रिङ आन्दोलनकर्मीहरू अनशनमा बसेका छन् ।
स्प्रिङ आन्दोलनकारीले नामकरण हुदा लिम्बुवान लेखाउन दबाबस्वरूप अनशन सुरु गरेका हुन् । आइतबार प्रदेश सभाको भवन अगाडिको निषेधित क्षेत्रमा स्प्रिङ आन्दोलनसम्बद्ध युवाहरू अनशन बसेको संयोजक इक्साहाङ चेम्जोङले बताए । ‘प्रदेशको नामकरण गर्दा लिम्बुवान उल्लेख हुनुपर्छ भन्ने अभिप्रायले अनशन थालेका हौँ । लामो समयदेखि चलिरहेको लिम्बुवानको आन्दोलनलाई सम्बोधन गराउन हामी शान्तिपूर्ण रूपमा आन्दोलन गरिरहनेछौँ,’उनले भने । प्रदेशको नामाकरणमा लिम्बुवान बाहेकका नाम पारित गरिए थप कडा आन्दोलन हुने चेम्जोङले बताए ।
४८ घण्टे अनशन बस्नेहरूमा चेम्जोङसहित समी लङ्वा, सौजन सुब्बा, सुनिल आङ्बो, पन्ना आङ्बो, अशोक सेर्मा, सुमन सहयात्री योङहाङ, सुन्दर लाओती, अंशुवर्मा लिम्बु, प्रयास बान्तवा, कौशिला नेम्वाङ र विजय लिङ्देन छन् । संसदमा आइतबारसम्म नाम र राजधानीबारे प्रस्ताव दर्ता गर्न भनिएको थियो । तर, आज दलहरुले राजधानीको मात्र प्रस्ताव दर्ता गराएका छन् ।
प्रदेश सभामा सत्तारुढ पार्टी नेकपाको दुई तिहाई बहुमत छ । प्रतिपक्षमा नेपाली कांग्रेस, संसफो, राप्रपा नेपाल लगायत पार्टी भएपनि अल्पमतमा छन् । लिम्बुवानको चर्को मुद्दा उठाउने सङ्घीय लिम्बुवान मञ्चका तर्फबाट पनि एक जना सांसद छिन् । प्रदेश नम्बर एकको नामका लागि लिम्बुवान, कोशी, सगरमाथा, किरात लगायतका नामहरू चर्चामा छन् । नामकरणले नेकपाभित्रै सहमति जुट्न नसकेपछि आज प्रस्ताव दर्ता गरिएन ।








































































