धरान : धरानका निजी विद्यालयहरू बिच भएको अन्तर स्कुल हाजिरी जवाफ प्रतियोगितामा धरान-६ स्थित एभरेष्ट चिल्ड्रेन होम इङ्लिस बोर्डिङ स्कुल प्रथम भएको छ ।

प्रतियोगितामा सहभागी १८ वटा स्कुललाई पछि पार्दै एभरेष्ट चिल्ड्रेन होम प्रथम भएको हो । एभरेष्ट अव जेठ ३२ गते इटहरीमा हुने सुनसरी जिल्ला स्तरीय अन्तर निजी विद्यालय प्रतियोगितामा सहभागी हुनेछ ।

प्रतियोगितामा उक्त विद्यालयबाट कृतिका प्याकुरेल, निशान विश्वकर्मा र कुशल प्याकुरेल सहभागी भएका थिए । उनीहरू ११५ अङ्क प्राप्त गरी जिल्ला स्तरीय प्रतिस्पर्धाका लागि विजयी भएको प्याव्सन धरानका सचिव रबिन न्यौपानेले बताए ।

एभरेष्ट गत वर्ष पनि जिल्ला स्तरीय प्रतिस्पर्धाका लागि धरानबाट छनौट भई चौथो स्थान ल्याएको थियो । प्रिन्सिपल भूपाल पौडेलले जिल्लामा जीतका लागि स्कुलले पूर्व तयारी सुरु गरेको बताए ।

सचिव न्यौपानेका अनुसार छनौट प्रतियोगितामा दोस्रो स्थान जेम्स सेकेण्डरी स्कुल धरान-१८ ले ८५ अङ्क र तेस्रो सिद्धार्थ शिशु स्कुल धरान-१६ ले ७५ अङ्क ल्याएको थियो ।

प्रथम, दोस्रो र तेस्रो हुने तीनै टिम जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगितामा सहभागी हुन पाउने छन् ।