धरान : लिम्बु संस्कृतिकर्मी स्रष्टा यासेली योङहाङ मास्टर चक्रबहादुर पुरस्कारबाट सम्मानित भएका छन् ।
तिन दशक अघि देखी पालम, हाक्पारे गायन, भिडियो एल्बम, सांस्कृतिक प्रस्तुतिका कार्यमा योगदान पुर्याउदै आएका उनले लिम्बु भाषाका नाटक पनि मञ्चन गरेका छन् ।
चक्रबहादुर पालुङवा फाउण्डेशन धरानले प्रदान गर्दै आएको उक्त सम्मान पुरस्कारको राशि २० हजार रुपैयाँ छ । बुधवार आयोजित मास्टर चक्रबहादुर पालुङवाको ८८ औँ जन्म जयन्तीको अवसरमा आयोजित सम्मान तथा पुरस्कार एवं छात्रवृत्ति वितरण समारोहमा मदन पुरस्कार विजेता लिम्बुवानको ऐतिहासिक दस्ताबेज सङ्ग्रहका लेखक भगिराज इङनामको हातबाट योङहाङलाई सम्मानित गरिएको हो ।
फाउण्डेशन स्वर्गीय चक्रबहादुर पालुङवाका छोराहरू तथा परिवारले उनको स्मृतिमा कल्याणकारी कार्य सञ्चालन गर्न स्थापना गरेका हुन् । गत वर्ष उक्त सम्मान पुरस्कार धरानका वरिष्ठ पत्रकार हर्ष सुब्बालाई प्रदान गरिएको थियो । सम्मान पुरस्कारका साथै फाउन्डेसनले छात्रवृत्ति, गम्भीर बिरामीलाई आर्थिक सहयोग पनि प्रदान गर्दै आएको छ ।
यसपालि ल्याबोटरी उच्च मावि, धरान–८ का कक्षा १२ का छात्र रोमन थापा मगरलाई १३ हजार ५ रुपैयाँको छात्रवृत्ति भाषाविद् प्रा.डा.. टङ्कप्रसाद न्यौपानेको हातबाट प्रदान गरियो । अघिल्लो वर्ष कक्षा ११ मा पढ्दा पनि उक्त छात्रवृत्ति उनैले पाएका थिए । यसपालि ढाडको उपचार गराई रहेका गम्भीर बिरामी खोटाङ हलेसीका ७२ वर्षीय गुरुपती भट्टराईलाई नगद ५ हजार ५ रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको छ ।
समारोहमा मदन पुरस्कार विजेता इङनामले भने ‘स्वर्गीय चक्रबहादुर पालुङवा इतिहासकार पनि थिए । उनले ताप्लेजुङको समकालीन समाज र लिम्बुवानको चलनका बारेमा आफैले देखेको भोगेको इतिहास लेखेका छन् ।’ चक्रबहादुरको पुस्तक ‘चक्रको युग चक्र’मा उल्लेख भएका घटना, संस्मरण तत्कालीन इतिहास भएको बताए ।
खोजकर्ता इङनाम ‘लिम्बुवानको ऐतिहासिक दस्ताबेज सङ्ग्रह’ पुस्तकका लागि २०७७ सालको मदन पुरस्कारबाट पुरस्कृत भएका हुन । लिम्बुवानको इतिहास खोजकर्ताहरू इतिहासकार इमानसिंह चेम्जोङ सहितका पुस्तक प्रकाशित भएता पनि पहिलो पटक दस्ताबेज सङ्ग्रह पुस्तकले मदन पुरस्कार पाएको हो ।
भाषाविद् प्रा.डा.टङ्कप्रसाद न्यौपानेले नेपालका मातृभाषाहरू लोप हुन लागेको बताउँदै लिम्बु भाषा लेख्य परम्परामा अहिले पनि जीवन्त रहेको बताए । चक्रबहादुर पालुङवा जस्ता समकालीन समाजका चलनहरू, अनुभवहरू लेखेर राख्ने असल व्यक्तिहरूका कारण लिम्बुवानको इतिहास खोज्न सहज भएको उनको भनाई थियो ।
नेपाल सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानका नाट्य विभाग प्रमुख अशोक लोहरुङ राईले फाउन्डेसनले मातृभाषी सांंस्कृतिकर्मी यासेलीलाई सम्मान गरेर उदाहरणीय कार्य गरेको बताए । मौलिक संस्कृतिका गीत, सङ्गीतमा काम गरेका संस्कृतिकर्मीहरू ओझेलमा परेको बेला यो सम्मान उदाहरणीय बनेको उनको भनाई थियो ।
गत वर्ष सम्मानित पत्रकार हर्ष सुब्बाले चक्रबहादुर पालुङवा बहुमुखी व्यक्ति रहेको बताउँदै महान् पिता, सङ्घर्षशील व्यक्ति, शिक्षा सेवी तथा समाज परिवर्तनका संवाहक रहेको बताए । पालुङका जेठा छोरा केपी पालुङवाले बुवाको स्मृतिमा हरेक वर्ष जन्म जयन्ती मनाउँदै असल काम गर्न पुरस्कार र छात्रवृत्ति स्थापना गरिएको बताए ।
फाउन्डेसनको अध्यक्ष डा.योगेन्द्र पालुङवाको सभापतित्वमा भएको समारोहमा चक्रबहादुरका वयोवृद्ध श्रीमती विष्णुमाया पतङवा, परिवारका सदस्यहरू, विशिष्ट व्यक्तिहरू उपस्थित थिए । ताप्लेजुङ निवासी स्वर्गीय चक्रवहादर पालुङवाको ८५ वर्षको उमेरमा दुई वर्ष अघि धरानमा बसोबास गर्दै आएको बेला निधन भएको थियो ।



































































