काठमाडौं: गए मध्यराती दाङको जंगलमा ब्युरोको बैठक भइरहदा छापा मारेर पक्राउ गरेका नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको २१ जना नेताहरुको नाम नेपाल प्रहरीले सार्वजनिक गरेको छ ।
प्रहरीले गएराति दाङको राजपुर गाउँपालिका ४ स्थित जंगलमा अपरेशन चलाएर २१ जनालाई बैठकस्थलबाट नै पक्राउ गरेको थियो । ५ नम्बर प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय, दाङले पक्राउ परेका नेताहरुको नाम आज सार्वजनिक गरेको हो । राप्ती ब्युरो बैठक चलिरहदा प्रहरीले घेराबन्दी गरेर उनीहरुलाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा नेकपाका महासचिव विप्लवका दाजु चन्द्रबहादुर अर्थात वीरगञ्ज पनि रहेका छन् । उनी पार्टीका केन्द्रीय सदस्यसँगै लुम्बिनी ब्युरो इञ्चार्ज तथा मध्यपश्चिम कमाण्ड इञ्चार्ज हुन् ।
यस्तै, पक्राउ परेका अन्य नेताहरुमा राप्ती ब्युरो इञ्चार्ज केशवबहादुर बाँठा मगर (सुवास), राप्ती ब्युरो न्याय विभाग समिति जिल्ला संयोजक रामबहादुर थापा (सुन्दर), कार्यालय सचिव सविन पोख्रेल, जिल्ला इञ्चार्ज यमलाल कटुवाल (विक्रम), जिल्ला सेक्रेटरी प्रदीप वली, युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष बबिन केसी (पाटन, जंगली), बुद्धिजीवि सुनिल पौडेल र क्षेत्र नं. ४ इञ्चार्ज एवं जिल्ला जनपरिषद् सदस्य एकराज चौधरी पनि पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।
यस्तै, क्षेत्र नं १ इञ्चार्ज तथा राजपुर गाउँपालिका सेक्रेटरी धनबहादुर बोहोरा (महान), पूर्वजनमुक्ति सेना तिलक पुन, दलित राष्ट्रिय मुक्ति मोर्चाका जिल्ला अध्यक्ष सुरज विक, सदस्य हितप्रसाद रोका, रोल्पा जिल्ला सदस्य पोष्टमान घर्ती, दलबहादुर घर्ती, अमित घर्ती मगर, बालकृष्ण शर्मा, जीत क्षेत्री, रमेश आचार्य, कुलबहादुर वली र विष्णु थापा पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ परेका सबैलाई अहिले जिल्ला प्रहरी कार्यालय, दाङमा राखेको छ । प्रहरीले उनीहरुको साथबाट महत्वपूर्ण दस्तावेज, हतियार, चन्दा संकलन गरिएका रसिद लगायत बरामद गरेको छ ।


































































