धरान: नेपाल बार एशोसिएशनको आयोजनामा धरानमा दुई दिने कानून व्यवसायी महिलाहरुको २८ औं राष्ट्रिय सम्मेलन शुरु भएको छ ।
धरान १५ स्थित चुम्लुङ हिममा राष्ट्रिय सम्मेलनको उद्घाटन प्रधानन्यायाधिश चोलेन्द्र शम्सेर जबराले गरेका छन् । मानवअधिकार र लैंगिक न्यायका लागि समानता, अविभेद र सशक्तिकरण भन्ने मुल नाराका साथ राष्ट्रिय सम्मेलन शुरु भएको हो । सम्मेलनमा देशभरका ७७ जिल्लाबाट महिला कानून व्यवासायी तथा पुरुषहरुको पनि सहभागिता छ । आयोजकका अनुसार सम्मेलनमा ५ सयको संख्यामा महिला कानून व्यवसायीहरु छन् ।
सम्मेलनको उद्घाटन समारोहलाई प्रमुख अतिथि एवं प्रधानन्यायाधिश चोलेन्द्र शम्शेर जबरा, बिशिष्ट अतिथि एवं कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री भानुभक्त ढकाल, सर्वोच्च अदालतका न्यायाधिश सपना प्रधान मल्ल, प्रदेश १ सभाका सभामुख प्रदीपकुमार भण्डारी, प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की, धरानकी कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदी, नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, निवर्तमान अध्यक्ष शेरबहादुर केसी, उपाध्यक्ष मानबहादुर रुम्दाली,महासचिव लिलामणी पौडेललगायत विभिन्न वरिष्ठ अधिवक्ताहरुले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सम्मेलन उद्घाटन पुर्वबिहानै धरानमा प्रभात फेरि र्याली पनि निकालिएको थियो ।सम्मेलन उद्घाटन समारोहमा अधिवक्ता लाइसेन्स परीक्षामा सर्वोत्कृष्ट अंग ल्याउने कुस्मा गिरी र दिपिका गजुरेललाई ज्योति विदुषी पुरस्कार प्रदान गरिएको थियो भने मिना गिरीलाई उत्तम मानन्धर स्मृति पुरस्कारद्धारा सम्मान गरिएको थियो । यस्तै, निर्मला महतलाई रुक्मांगत बस्याल स्मृति पुरस्कारले सम्मान गरिएको थियो ।
सुनसरी जिल्ला बार ईकाईको आतिथ्यता र धरान कानुन व्यवसायी क्लबको सहआतिथ्यतामा शुरु भएको सम्मेलनमा विभिन्न ४ सेसनमा कार्यपत्र प्रस्तुत हुनेछ भने गहन छलफल पनि हुने बताइएको छ । महिला कानून व्यवसायीहरुलाई सशक्तीकरण गर्ने साथै नेपालको विद्यमान कानून, कानूनी जटिलता र कमजोरीहरुको बिषय भए त्यसलाईसमेत समेटेर सम्मेलनले घोषणा पत्र जारी गर्ने आयोजक समितिकी उपाध्यक्ष रक्षा बस्यालले बताइन् ।



































































