धरान : सुनसरीको धरान मोडल कलेजमा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको स्नातक तहको चार वर्षे कोर्ष ब्याचलर इन सोसियल वर्क पठनपाठन हुने भएको छ।

गत मङ्गलवार सन्ध्या इन होटेलमा आयोजित पत्रकार सम्मेलनमा धरान-१ मा रहेको धरान मोडल कलेजले यही शैक्षिक सत्र देखी नै कलेजमा बिएसडब्ल्यु पठनपाठन हुने जानकारी दिइएको हो।

कार्यक्रमका अर्डिनेटर मोहन श्रेष्ठले अहिले पनि धरानबाट धेरै विद्यार्थीहरू बीएसडब्लू अध्ययनका लागि इटहरी, विराटनगर र काठमाडौँ सम्म पुग्ने भएकाले धरानलाई ‘शैक्षिक हब’ बनाउने उद्देश्यका साथ धरानमा यो कार्यक्रम सुरु गरिएको गरिएको बताए ।

उनले भने 'हामीले पूर्व शैक्षिक अनुसन्धान पनि गरेका थियौँ जसमा विद्यार्थीहरू यस विषयमा इच्छुक भएको पाइएकाले धरानका विद्यार्थीहरू बाहिर जान नपरोस् भनेर यो कार्यक्रम ल्याएका हौँ ।’

बीएसडब्लू विषयका विज्ञ तुलसी आर्चाय भन्छन्-' बिएसडब्लू कोर्षले समुदायमा भएका समस्यालाई समुदायमा नै बसेर समाधान गर्न सिकाउँछ । जसले समाजको परिवर्तनको खाँचो देख्छ। त्यस्ता विद्यार्थीका लागि यो कोर्स उपयुक्त हुन्छ।'

समाजको विज्ञान बुझ्दा मात्र अरू विज्ञानले काम गर्ने उनको तर्क छ। ‘समाजको विज्ञान बुझ्दा मात्रै अरू विज्ञानले काम गर्छ’, उनी भन्छन्, ‘विज्ञान प्रविधि मान्छेका लागि हो । मान्छे प्रविधिका लागि होइन। पछिल्लो समय टेक्नोलोजीले मानवीयता बिर्सँदै गएको छ। त्यसका लागि पनि बीएसडब्लू कोर्स आवश्यक छ ।’

‘नेपाललगायत विश्वका देशहरू सामाजिक, राजनीतिक आर्थिक रूपमा पछाडि पर्नुको कारण के हो ? विद्यार्थीले त्यसको पहिचान, अध्ययन र अनुसन्धान गरेर रिपोर्ट तयार पार्ने हो । समाधानको उपाय पनि पत्ता लगाउने हो’, उनी भन्छन्, ‘समाजको एक असल योद्धा बन्न सक्छ । उत्तीर्ण भएपछि मार्केट खोज्न जानै पर्दैन, मार्केटले नै तपाईँलाई खोज्छ ।’

२०६६ सालमा स्थापना भएको धरान मोडल कलेजमा यसअघि त्रिभुवन विश्वविद्यालयकै बिबिए, बिए, चार वर्षे तथा एक वर्षे बिएड कार्यक्रम पनि सञ्चालन हुँदै आएको क्याम्पस प्रमुख प्रवीण राईले जानकारी दिए । यो कोर्स पढेकाले सहज तरिकाले नेतृत्वदायी भूमिका निभाउन सक्ने राईले बताए । ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थामा काम गर्ने अवसर मिल्छ । आफैँ संस्था खोलेर काम गर्न पनि सकिन्छ । यो कोर्स पढेकाले सहज तरिकाले नेतृत्वदायी भूमिका निभाउन सक्छन्’, उनले भने ।

बिहान पढेर दिउँसो काम गर्न सक्ने भएकाले बीएसडब्लू पढ्न विद्यार्थीको आकर्षण बढ्दै गएको उनको बुझाइ छ। कुनै पनि संस्थाको नेतृत्व तहमा यो कोर्स पढेको व्यक्ति हुनुपर्ने उनी बताउँछन् । ‘सरकारी विभिन्न पोस्टमा अरू विषय पढेकाले लिड गरिरहेका छन्’, उनले भने, ‘सरकारी तथा गैर सरकारी संस्थाको नेतृत्व यो कोर्स पढेकाले गर्नुपर्छ। यो विषय पढेर विद्यार्थी अस्ट्रेलिया, क्यानडा र अमेरिका जाने पनि धेरै छन् ।’

‘११ र १२ कक्षामा र स्नातक तहमा पनि समाजशास्त्र विषय छ। तर, बीएसडब्लू विषयको ब्युटी भनेको चार दिन पढाइ हुने र दुई दिन फिल्ड वर्क जाने हो ।’ यो विषय फाइनान्स, स्थानीय निकाय, एनजिओ, आइएलजिओ, सामाजिक समस्या पत्ता लगाउन, विश्लेषण गर्न र समस्या समाधान गर्न जनशक्ति उत्पादन गर्न यो महत्वपूर्ण छ। ‘नेपालमा विकासोन्मुख समस्या धेरै रहेको र यहाँ सामाजिक समस्या छन्, सामाजिक समस्या पत्ता लगाउन, समस्या समाधान गर्न यो विषयले सहयोग गर्ने भएकोले धेरै प्रयास गरेर यो विषय धरानमा पहिलोपल्ट ल्याएका छौँ, यो कलेजका लागि मात्रै नभएर धरानकै लागि गर्वको विषय हो ।’ उनले भने।

bsw-model-college