धरान : धरान रङ्गशालामा जारी तेस्रो सुवास राई स्मृति सुपर-८ फुटबल प्रतियोगिताको लिग चरणको खेलमा बुधवार धरान ११ ले धरान ६ लाई २-० गोलले पराजित गरेको छ ।

प्रतिस्पर्धापूर्ण खेलमा धरान ११ का धिरेन सुब्बाले १ गोल, सुजन तामाङले १ गोल गरे । खेलको म्यान अफ दि म्याच धरान ११ का प्रवीण राई घोषित भए । उनले नगद २ हजार सहित जिएफएक्स फुडको ५ सयको गिफ्ट ह्याम्पर प्राप्त गरे।

खेल अवधिभर धरान ६ ले थुप्रै गोल गर्ने अवसरलाई सदुपयोग गर्न सकेन । खेलमा धरान ६ का टिम कप्तान अजय बिष्टले रेड कार्ड पाएर खेलबाट बाहिरिएका थिए ।

उनले खेलको १३ औँ मिनेटमा पहेँलो कार्ड पाएको थियो । ५२ औँ मिनेटमा अर्को पहेँलो कार्ड लगत्तै निर्णायकले रेड कार्ड देखाएका थिए । उनले प्रतियोगिता अवधिमा अर्को खेल खेल्न नपाउने आयोजकले बताएको छ ।

प्रतियोगिता हाम्रो धरान भेट्रान फुटबल क्लबको आयोजनामा सञ्चालन भएको हो । प्रतियोगितामा गोधुली अन्तर वडा फुटबल प्रतियोगितामा छानिएका उत्कृष्ट ८ वटा टिमसँग कुल १५ खेल लिग चरणमा हुनेछ ।

प्रतियोगितामा अङ्कको आधारमा उत्कृष्ट छानिएका टिमहरू बिच लिग कम नकआउटको आधारमा २ वटा सेमिफाइनल खेल हुनेछ ।

सुवास राई स्मृति सुपर९८ मा धरान १३, १४, १८, ५, ६, ८, ११ र १७ ले प्रतिस्पर्धा गर्दैछन । प्रतियोगिता धरान उपमहानगरपालिकाका तत्कालीन मेयर तिलक राईको कार्यकालबाट सुरु भएको हो ।

प्रतियोगिताको विजेता टिमले २ लाख ५५५ र उपविजेताले १ लाख ५५५ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ ।

प्रतियोगिताको भोली बिहीबार हुने खेल धरान-८ र धरान १३ बिच हुनेछ ।