विराटनगर : विराटनगर वडा १४ मा आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण गर्न जग्गा दिने दाता समाजसेवी जगदीश प्रसाद यादवलाई महानगरपालिकाका मेयर नागेश कोइरालाले सम्मानित गरेका छन् ।

स्वास्थ्य केन्द्रको नवनिर्मित भवनको मङ्गलवार आयोजित उद्घाटन कार्यक्रममा यादवलाई सम्मानित गरिएको हो । भवन निर्माणका लागि यादवले २ कट्टा १० धुर जग्गा निःशुल्क उपलब्ध गराएका हुन् ।

भवन उद्घाटन गर्दै मेयर कोइरालाले स्वास्थ्य केन्द्रको आफ्नै भवन निर्माणले सेवा प्रवाहमा सहज हुने बताए । उनले केन्द्रमा आवश्यक पर्ने जनशक्ति र उपकरण व्यवस्था गरिने प्रतिबद्धता जनाए ।

महानगरपालिकाले १९ वटै वडामा निःशुल्क स्वास्थ्य शिविर, विराटनगर आँखा अस्पतालसँगको सहकार्यमा मोतिया बिन्दु मुक्त महानगर बनाउने अभियान सञ्चालन गरेको उल्लेख गरे ।

८० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकको घरमै पुगेर निःशुल्क स्वास्थ्य चेकजाँच र औषधि वितरण, निःशुल्क एम्बुलेन्स सेवा लगायतका कार्यक्रम जारी रहेको मेयर कोइरालाले बताए ।

उपमेयर शिल्पा निराला कार्कीले महानगरले दक्षिणी क्षेत्रलाई प्राथमिकतामा राखेर विकास निर्माणका कार्य अगाडि बढाइरहेको जानकारी दिइन् ।

वडा १४ का अध्यक्ष सूर्यनारायण महतोको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले भवनमा स्वास्थ्य सम्बन्धी तालिम लगायतका कार्य गरिने बताए ।

जसपा मोरङका उपाध्यक्ष मन्तलाल यादव, नेपाली काँग्रेसका युवा नेता रमेश राजवंशी, नेकपा एमालेकी नेतृ सुनिता श्रेष्ठ, माओवादी केन्द्रका मनोज कामत, वडा सदस्य दिनानाथ यादव लगायतले शुभकामना प्रकट गरे ।

नवनिर्मित अपाङ्गमैत्री भवनमा शौचालय, ८ कोठा र एउटा हल रहेको छ । २४ सय स्क्वायर फिटको भवन निर्माणमा ७५ लाख रुपैयाँ खर्च भएको महानगरपालिका इन्जिनियर अर्जुन थापाले बताए ।

jaggadata samman news 2