धरान : फिनल्यान्डमा आउँदो मई ११ तारिखमा हुने भलिबल प्रतियोगितामा नेपालबाट नेपाली युरोपियन खेलकुद सङ्घ एनईएससीको टिम सहभागी हुने भएको छ ।

एनईएससीको केन्द्रीय कार्यालय अस्ट्रियाको इन्स्ब्रुकमा छ । नेपालको भलिबल खेल प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै एनईएससीले सहभागी टिम पनि तयार गरेको जनाएको छ ।

एनईएससीको टिममा कप्तान अञ्जन अधिकारी, ख्याम विक, आङ कामी लामा, गर टेम्बा शेर्पा, राजु विश्वकर्मा, प्रेम विश्वकर्मा, म्यानेजर पासाङ निमा शेर्पा, सुनिल दियाली, कृष्ण विश्वकर्मा, विवेक बजगाईँ, विकास विक, रोहित विश्वकर्मा, नारायण कार्की, अमृत तिवारी रहेका छन् ।

एनईएससीका अध्यक्ष दिलकुमार घमालका अनुसार सल्लाहकार संयोजक विकास कार्की र डा. किशोर कमल पनि टोलीसँगै फिनल्यान्ड जानेछन् ।

प्रतियोगितामा विभिन्न देशका ७ वटा टिम सहभागी हुनेछ । सन् २०२० मा स्थापित सङ्घले युरोपमा नेपालको राष्ट्रिय खेल भलिबलको प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । सङ्घले यसअघि पनि युरोपका विभिन्न स्थानमा भएका प्रतियोगिताहरूमा सहभागिता जनाइसकेको छ । एनईएससीले पनि मैत्रीपूर्ण भलिबल प्रतियोगिता आयोजना गर्दै आएको छ ।

अध्यक्ष घमालले भने, ‘फिनल्यान्डबाट निमन्त्रणा आएकोले टिम तयार गरिसकेको छौँ, हार्नु-जित्नु आफ्नो ठाउँमा छ तर प्रतियोगिताले युरोपमा रहेका नेपालीलाई भावनात्मक रूपमा जोड्ने विश्वास लिएको छु ।’

अढाई दशकदेखि अस्ट्रियाको इन्स्ब्रुकमा पर्यटन व्यवसायमा संलग्न समाजसेवी घमालकै अग्रसरतामा चार वर्षअघि एनईएससी स्थापना भएको थियो ।

NESC