वराहक्षेत्र : सुनसरीको वराहक्षेत्र नगरपालिकाले मौलिक एवम् सांस्कृतिक महत्त्व बोकेको नौमती पञ्चेबाजाको संरक्षण गर्न उद्देश्यले ४५ दिने तालिम प्रदान गरेको छ ।

नगरपालिकाको आर्थिक सहयोगबाट नेपाल संयुक्त दलित समाजको आयोजना उक्त तालिम ४५ दिनसम्म सञ्चालन भएको थियो ।

तालिमको बुधवार  समापन समेत भएको छ । समापन कार्यक्रममा नगर प्रमुख रमेश कार्कीले तालिममा सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाण पत्र समेत प्रदान गरेका थिए ।

विवाह, उत्सव तथा शुभ कार्यमा प्रयोग गरिने मौलिकता बोकेको दमाहा, झ्याम्टा, सनाई, ढोलक, ट्याम्को, नरसिंहे जस्ता ९ वटा बाजाहरूलाई एकैसाथ बजाउने नौमती बाजा लोप हुँदै गएको र यसको संरक्षणका लागि तालिम प्रदान गरिने कार्यक्रम ल्याएको नगर प्रमुख रमेश कार्की बताए । गत वर्ष पनि नगरपालिको सहयोगमा २८ जनालाई उक्त नौमती बाजा बजाउने तालिम प्रदान गरिएको थियो ।

नेपाल संयुक्त दलित समाजकाको सभा हलमा अध्यक्ष रमा परियारको सभाध्यक्षतामा आयोजना भएको ४५ दिने नौमती पञ्चे बाजा बजाउने तालिम समापन कार्यक्रममा नगर प्रमुख रमेश कार्की प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रममा वडा ६ का अध्यक्ष उद्धव पोखरेल, वडा ७ का अध्यक्ष कपिल आचार्य, वडा ८ का अध्यक्ष रोशन खड्का, कार्यपालिका सदस्य नबिना बिक, रत्न रम्तेल, सामाजिक विकास शाखाका प्रमुख अरुण मेहता लगाएको आतिथ्य रहेको थियो ।

गत वर्ष वराहक्षेत्र नगरपालिकाले प्रशिक्षण दिए पछि नगरपालिकामा २ वटा नौमती बाजा बजाउने समूह क्रियाशील रहेको छ। विशेष गरी नौमती बाजा बनाउने समूहमा महिलाको सङ्ख्या उल्लेखनीय रहेको छ ।