विराटनगर : विवाहोत्सव तथा शुभ कार्यमा शुभ धुनका लागि बजाउने गरिएको नौमती तथा पञ्चै बाजाको चलन बढाउन विराटनगरमा समूहगत तालिम सञ्चालन गरिएको छ ।

तालिम विराटनगर महानगरपालिकाले सुरु गरेको हो । महानगरपालिकाले सबै जाति, भाषा, धर्म, संस्कृति, परम्परा र रीतिरिवाजको सम्मान र संरक्षणको नीति तथा कार्यक्रम अनुसार तालिम आयोजना गरेको हो ।

तालिमको प्रारम्भ गर्दै उपमेयर शिल्पा निराला कार्कीले महानगरपालिकाले भौतिक विकास सँगै संस्कृति धर्म, जातीय परम्पराको सम्मान र संरक्षणलाई प्राथमिकतामा राखेको बताइन् । पछिल्लो समय सहर बजारमा समेत नौमती पञ्चेबाजा प्रतिको आकर्षण बढ्दै गएको उनको भनाइ थियो ।

उनले तालिममा सिकेको सीपलाई व्यवहारमा उतारेर आत्मनिर्भर हुन सकिने विश्वास व्यक्त गरिन् । तालिममा २७ जना सहभागी छन् ।