विराटनगर : विराटनगर स्थित विराट निदान हस्पिटल एण्ड ट्रमा सेन्टर अनुमति नलिई सञ्चालन गरिएको पाइएको छ ।

विराटनगर-३ दूध फारम पूर्वमा हालै खुलेको उक्त अस्पतालका बारेमा अनुमति नलिई स्वास्थ्य सेवा सञ्चालन गरेको गुनासो आएपछि विराटनगर महानगरपालिकाले शुक्रवार अनुगमन गरेको हो ।

सामाजिक विकास समिति संयोजक काजीबहादुर बस्नेत नेतृत्वको टोलीले अनुगमन गर्दा महानगरपालिकामा व्यवसाय दर्ता नगरिएको साथै सम्बन्धित निकायबाट इजाजत पत्र नलिई सञ्चालन गरेको पाइएको हो ।

व्यवसाय दर्ता र इजाजत पत्र सम्बन्धित निकायबाट लिन प्रक्रिया सुरु गरिए पनि प्राप्त भई नसकेको महानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख दिलीप यादवले जानकारी दिए । अस्पतालमा बिरामी नभए पनि औषधि पसल सहित केही सेवाहरू सञ्चालनमा रहेको उनले बताए ।

यादवका अनुसार अस्पताललाई इजाजत पत्र प्राप्त नभएसम्म कुनै पनि स्वास्थ्य उपचार नगर्न निर्देशन दिइएको छ। यदि अटेर गरेर स्वास्थ्य सेवा सञ्चालन गरेको पाइएमा कानुनी कारबाही गर्ने चेतावनी दिइएको उनले बताए ।

महानगरपालिका वडा १ का अध्यक्ष समेत रहेका संयोजक बस्नेतले भने ‘गैरकानुनी रूपमा सञ्चालन हुने जुनसुकै पेसा व्यवसायलाई कानुनी दायरामा ल्याउने कार्यमा महानगरपालिका पछि हट्दैन ।’

अनुगमन टोलीमा स्वास्थ्य अधिकृत रमेश कार्की, मिना अधिकारी, भूपेन्द्र साह, राजेन्द्र कुइँकेल, नगर प्रहरी प्रमुख राजन पौडेल, स्वास्थ्य कार्यालय मोरङका जनस्वास्थ्य अधिकृत शेखर यादव, जिल्ला प्रशासन कार्यालय मोरङका प्रतिनिधि कृष्ण पोखरेल, अनुगमन समितिका सदस्य डा. विसम्बर यादव लगायत थिए ।

birat-nidan-hospital-2