धरान : उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले एकल निर्णय गर्दै धरान-१६ स्थित पञ्चायत आधारभूत विद्यालयको छेउमै रहेको गुरुङ पार्टी प्यालेसलाई नयाँ संरचना थप गरी सञ्चालन गर्न अनुमति दिएका छन् ।

मेयर साम्पाङले आफ्नै अध्यक्षतामा उपमहानगरपालिकाको कार्यपालिकाको बैठकमा निर्णय गरी बनाएको नियम तोडेर पार्टी प्यालेस चलाउने स्वीकृति दिएका हुन् ।

मेयर सम्पाङको अनुमति दिने तोकादेश भएपछि गुरुङ बीबीक्यूका सञ्चालक धनबहादुर गुरुङले पार्टी प्यालेस निर्माण सुरु गरेका छन् । उक्त जग्गा स्थानीय सुनिल श्रेष्ठको हो ।

कार्यपालिकाको निर्णय :

धरान उपमहानगरपालिकाको २०८० पौष २९ गते आइतबार मेयर हर्क साम्पाङको अध्यक्षता बसेको कार्यपालिकाको बैठकले निर्णय गर्दै शैक्षिक संस्था र सार्वजनिक स्थानहरूमा धूम्रपान, मध्यपान तथा सुर्तीजन्य बस्तु बिक्री वितरण र भण्डारणमा प्रतिबन्ध लगाउनले नियम बनाएको थियो ।

उक्त नियम लागु गर्ने निर्णय गर्दै ‘अटेर गरे कानुन बमोजिम जरिवाना समेतको व्यवस्था गर्ने’ निर्णय समेत गरेको छ ।

पार्टी प्यालेस सञ्चालनको स्वीकृतिका लागि परेको निवेदन उपर उपमहानगरपालिका प्रशासनले ध्वनि प्रदूषण लेभल ६०-६२०६ सम्म हुनुपर्ने र पार्टी प्यालेस सञ्चालनका लागि बस्तु विशिष्टता र बस्तु परक हुनुपर्ने टिप्पणी उठाउँदै राय दिएको थियो ।

शिक्षा महाशाखालाई थाहा छैन 

उक्त राय अनुसार स्वीकृति दिन उपयुक्त नभएतापनि मेयर साम्पाङले एकल निर्णय गर्दे ‘भविष्यमा पार्टी प्यालेस सञ्चालन गर्दा विद्यालयमा ध्वनि प्रदूषण भए सञ्चालन नगर्ने सर्तमा सदर’ भनी तोकादेश गर्दै २०८० चैत्र ५ गते संरचना थप गर्न अनुमति दिएका हुन् ।

शिक्षा महाशाखा प्रमुख गणेश प्रसाद खतिवडाले भने शिक्षा सम्बन्धी ऐनमा कुनै मापदण्ड नभएको  बताए । तर होटेल, पार्टी प्यालेस खोल्दा विद्यालय, अस्पताल लगायतलाई असर पर्नु नहुने बताए । पार्टी प्यालेस सञ्चालनको स्वीकृति दिएको भने थाहा नभएको उनले बताए ।

विद्यालयमा असर पर्छ :

विद्यालयसँगै साथ जोडिएको भवनमा मध्यपान, धूम्रपान, नाचगान, होहल्ला हुनेगरी पार्टी प्यालेस सञ्चालन गरिदा विद्यालयलाई प्रत्यक्ष असर पर्ने प्रधानाध्यापक कृष्ण भट्टराईले बताए ।

उनले भने, ‘विद्यालय छेउमा होटेल, पार्टी प्यालेस डान्सबार खोल्दा त्यसको प्रत्यक्ष असर बालबालिका र पठनपाठनमा पर्छ ।’ उनका अनुसार शिक्षा ऐनले पनि विद्यालय छेउछाउमा यस्ता पसल, होटेल नहुने निर्देशन गरेको छ । १५० मिटर छेउमा सुर्तीजन्य पदार्थ पनि बिक्री वितरण गर्न नमिल्ने उनले बताए ।

सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमावली गर्ने) ऐन, २०७६ को दफा ११ को उपदफा १ देखि ५ सम्ममा कुनै पनि शैक्षिक,स्वास्थ्य संस्था बाल कल्याण गृह जेष्ठ नागरिक आश्रम ,पुनस्थापना केन्द्र  र अनाथालय र नेपाल सरकार तथा प्रदेश सरकारले राजपत्रमा सूचना प्रकाशन गरि तोकिएको सार्वजनिक स्थलबाट कम्तीमा एक सय मिटरको दुरिमा घर पसलबाट सुर्तीजन्य पदार्थ बिक्री बितरण गर्न गराउन नपाउने छैन भनि  उल्लेख गरिएको छ ।

वडाको संलग्नता छैन :

वडा १६ का अध्यक्ष मुरारी भट्टराईले २०७७ सालमा पार्टी प्यालेस सुरु भएपनि हाल आफूले कुनै पनि काम अगाडी नबढाएको बताए । चार किल्ला प्रमाणित बारे सूचना आउँदा वडाले रोकेको बताउँदै भने, ‘भवन सम्बन्धमा कुनै काम वडाबाट हुँदैन ।’ बिहीबार सँधियार सर्जिवन गर्नु भनी १५ दिने सूचना आएको जानकारी उनले दिए ।

वडाध्यक्ष भट्टराईका अनुसार पार्टी प्यालेस निर्माण बारे प्रमुख प्रशासकीय अधिकृत प्रज्ञादेवी निरौला र योजना तथा ईन्जिनियरीङ शाखाका वरिष्ठ इन्जिनियर सुरज श्रेष्ठ सहितको टोलीले कार्यपालिकामा छलफलमा लाने निर्णय गरेता पनि मेयर साम्पाङको एकल राय सहितको निर्णय आएको बताए ।

तिन वर्ष अघिदेखि सञ्चालन

विद्यालयसँग पार्टी प्यालेस सञ्चालन गर्न धरान-१६ का निर्वतमान वडा अध्यक्ष दिलबहादुर गिरीकै पालामा स्वीकृति दिइएको पाइएको छ । २०७७ साल श्रवण १३ गते विद्यालय व्यवस्थापन समिति अध्यक्ष जनार्दन बस्ती लगायत वडा सदस्य सुरेश श्रेष्ठ सहित सरोकारवाला पक्षले नै अनुमति दिएका थिए ।

साम्पाङका सहयोगीको भूमिका

विद्यालयसँगै पार्टी प्यालेसलाई विस्तार गर्ने कार्यमा मेयर साम्पाङबाट स्वीकृति गराउने कार्यमा मेयरका सहयोगी सत्य गुरुङले निर्णायक भूमिका खेलेको श्रोतले बतायो । बिचमा मेयरलाई छोडेर रास्वपाको वडा १६ अध्यक्ष बनेका गुरुङ पछिल्लो समय फेरी मेयर साम्पाङको निकट छन् ।

सत्य गुरुङसँग यसबारे कुराकानी गर्न फोन सम्पर्क गर्दा उनले कुरा गर्न चाहेनन् । फोनमै चर्को स्वरमा झर्कँदै उनले भने, ‘मलाई थाहा भएन भनेको सुन्नु भएन ?’, भन्दै फोन काटिदिए ।

harka sampang party palace notice

harka sampang party palace notice 2