धरान : हङकङमा बस्ने मगर समुदायको साझा सामाजिक संस्था मगर सङ्घ हङकङको १०औँ अधिवेशनले हर्कप्रसाद रानामगरलाई अध्यक्षमा चयन गरेको छ ।

सङ्घलाई कल्याणकारी संस्थाकोरुपमा विकसित गर्दै लैजाने नीति अनुसार हालै सम्पन्न अधिवेशनले दुई उपाध्यक्षमा यमबहादुर बुढाथोकी मगर, उपाध्यक्ष कुमारी थापामगर, महासचिव रवीन्द्र थापामगर लगायत सर्वसम्मत निर्वाचित भएका थिए । बाकी सदस्यहरू समितिको पहिलो बैठकले निर्णय गर्ने सहमति भएको नवनिर्वाचित समितिका अध्यक्ष रानामगरले बताए ।

अधिवेशनको उद्घाटन हङकङ महावाणिज्य दूत उदय रानामगरले गरेका थिए । उनले सङ्घ हङ्कङका अध्यक्ष युगमाया रानामगरको अध्यक्षता र महासचिव नन्द रानामगरलेले सञ्चलन गरेका थिए । उद्घाटन समारोह पस्चात सञ्चालन भएको बन्द सत्रले आर्थिक र साङ्गठनिक प्रतिवेदन पारित गर्दै निर्वाचन मण्डलको संयोजक तथा प्रमुख आयुक्त मनोज सुर्यबन्शीमगरले सर्वसम्मत निर्वाचित समितिको नामावली घोषणा गरेका थिए ।

मगर सङ्घ हङकङ दसौँ अधिवेशनमा आइपुग्दा विभाजनको सङ्घारमा पुगेको छ । विशेष गरी वर्तमान कार्यसमिति अध्यक्ष युगमाया राना हेमराज थापालाई विधान मिचेरै भए पनि आगामी कार्यसमितिको अध्यक्ष बनाउन लागिपरेपछि मगर सङ्घ विभाजनको सङ्घारमा पुगेको हो ।

कार्यसमितिले अक्टोबर ३ का दिन दसौँ अधिवेशन सम्पन्न गर्नको लागि एक निर्वाचन मण्डलको गठन गरेको थियो । मगर सङ्घ हङकङको संस्थापक सचिव मनोज सूर्यवंशी मगरको संयोजकत्वमा गठित निर्वाचन मण्डलले आगामी कार्यसमितिमा काम गर्नको लागि उम्मेदवारहरूको नाम आव्हान गरेपछि अध्यक्षमा हर्क रानामगर र हेमराज थापा, उपाध्यक्षमा याम बुढाथोकी, हेम थापा र कुमारी थापा, महासचिवमा रवीन्द्र थापा र कोषाध्यक्षमा विनोद सुनारी मगरको मात्र उम्मेदवारी परेको थियो ।

तर अध्यक्ष पदमा हेमराज थापाको उम्मेदवारीको योग्यतामाथि प्रश्न उठाएर निर्वाचन आयोगमा उजुरी परेको थियो । विधानको धारा २४, क (अ) अनुसार अध्यक्षको उम्मेदवार बन्न कार्यसमितिमा बसेर एक कार्यकाल गरेको वा भातृ संस्था, क्षेत्रीय समिति वा विभागको पदाधिकारी रही एक कार्यकाल काम गरेको हुनुपर्ने उल्लेख भएको भन्दै परेको उक्त उजुरीको छानबिनपछि निर्वाचन आयोगले हेमराज थापा विधानतः अयोग्य रहेको निर्णयमा पुगेको थियो ।

निर्वाचन मण्डलले गत सेप्टेम्बर ३० तारिख नै अध्यक्षमा हर्क राना मगर, उपाध्यक्षमा याम बुढाथोकी मगर अनि कुमारी थापामगर र महासचिवमा रवीन्द्र थापा मगर निर्विरोध भइसकेको घोषणा गरेको छ । तर हेमराज थापामगर सङ्घको विधान अनुसार अयोग्य भएको भनेर निर्वाचन मण्डलले घोषणा गरेपछि युगमाया राना र हेमराज थापाको मिलेमतोमा निर्वाचन मण्डल विघटन गरेको र हेमराज थापालाई कार्यसमितिको कोषाध्यक्षमा नियुक्ति दिएको निर्णय गराएको बुझिएको छ ।

आकस्मिक बैठक भनेर गरिएको उक्त निर्णय भने कोठामा लेखेर सदस्यहरुलाई एक एक गरी बोलाउँदै जबरजस्ती हस्ताक्षर गराएको कुरा कार्यसमितिकै सदस्यहरूले बताएका छन् । त्यो पनि १७ सदस्यीय कार्यसमितिमा जम्मा ७ जनालाई उक्त निर्णयमा हस्ताक्षर गराउन लगाइएको र ती मध्ये पनि एक जना सदस्यले नोट अफ डिसेन्ट लेखेको बताइएको छ ।