वराहक्षेत्र : राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले बाटो बिराएको वर्तमान नेपालको राजनीतिलाई धर्मले मात्र सही बाटोमा ल्याउने बताएका छन् ।

वराहक्षेत्र नगरपालिका वडा नं १ प्राचीन हरिद्वार चतराधाममा जारी एक महिने बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलामा बुधवार आएका पूर्व उप-प्रधानमन्त्री समेत रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिबाट धर्म अलग हुनै नसक्ने जिकिर समेत गरे ।

उनले नेपाललाई हिन्दु राष्ट्रको रूपमा पुर्नस्थापित गराउने महाअभियानमा लागिपरेको बताउँदै सबैलाई सहयोग गर्न आव्हान समेत गरे ।

'राजनीति र धर्मलाई सँगसँगै लैजानु पर्छ, धर्म सहितको राजनीति हुनु अनि मात्र राजनीतिलाई धर्मले सही बाटोमा ल्याउँछ', उनले भने । उनलाई बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेला समारोह समितिले नागरिक अभिनन्दन समेत गरेको छ ।

उनलाई नेपाल राष्ट्रका प्रथम जगदगुरु एवम् कुम्भ मेलाका सर्जक बालसन्त मोहनशरण देवाचार्य र बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेला समारोह समितिका उपाध्यक्ष एवम् नगर उप-प्रमुख नन्दकुमारी सुनुवारले नागरिक अभिनन्दन पत्र हस्तान्तरण गरेका थिए ।

बुधवार बिहान लिङ्देनले जगदगुरु एवम् कुम्भ मेलाका सर्जक बालसन्त मोहनशरण देवाचार्य, महन्त सहित कौशिकीमा कुम्भ स्नान समेत गरेका थिए ।

rajendra lingden 2