विराटनगर : संविधान दिवसको अवसरमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशवासीका नाम सन्देश दिँदै नेपालको संविधान जननिर्वाचित संविधानसभाबाट जारी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको आधार स्तम्भ भएको बताएका छन् ।

ऐतिहासिक संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्र सुदृढीकरणका लागि सबै राजनीतिक दल, नागरिक समाज र आम नेपाली जनतालाई एक ढिक्का भएर अघि बढ्न सन्देशका मुख्यमन्त्री कार्कीले आह्वान गरेका छन् ।

सन्देशमा भनिएको छ ‘सात दशकभन्दा लामो सङ्घर्ष र बलिदानको परिणामस्वरूप २०७२ साल असोज ३ गते जननिर्वाचित संविधानसभाबाट जारी संविधान नेपालको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको आधार स्तम्भ हो र यसको रक्षा गर्न सबैले हातेमालो गरौँ ।’

संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा मुख्यमन्त्री कार्कीले सहिदहरू प्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । साथै भदौ २३ गते भ्रष्टाचार अन्त्य र सुशासन स्थापनाको माग गर्दै प्रदर्शनका क्रममा ज्यान गुमाएका युवाप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गरेका छन् ।

कोशी प्रदेश सरकार संविधानको पालना, कानुनको शासन, सुशासन र पारदर्शिता कायम गरी भ्रष्टाचार निवारण लागिपरेको उल्लेख गर्दै सन्देशमा सामाजिक-आर्थिक विकासलाई तीव्रता दिँदै समाजवाद उन्मुख राष्ट्रिय अर्थतन्त्र निर्माण गर्नु अहिलेको अभिभारा भएको बताइएको छ ।

संविधान कार्यान्वयनका क्रममा देखिएका समस्याहरूलाई विधिपूर्वक संविधान संशोधनमार्फत समाधान गर्दै राजनीतिक स्थिरता, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम गर्न मुख्यमन्त्री कार्कीले आह्वान गरेका छन् ।

युवाहरूको ऊर्जा, सृजनशीलता र सीपलाई सदुपयोग गर्दै समृद्ध नेपालको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न कोशी प्रदेश सरकार प्रतिबद्ध रहेको सन्देशमा उल्लेख छ।