इटहरी : कोशी प्रदेश सरकारले पहिलो पटक लगानी सम्मेलनको आयोजना सम्पन्न गरेको छ । पर्यटन वर्षको उद्घाटनमा नपुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले लगानी सम्मेलनमा भने सम्बोधन गरे । कोशी प्रदेश लगानीको उपयुक्त गन्तव्य दाबी गरेका उनले सम्बोधनको सुरुमै पूर्व राजा ज्ञानेन्द्र शाहलाई गाली गर्न भ्याइहाले ।
पूर्व राजाका नातिलाई फिल्म खेल्न सक्छ भन्दा र कोही नेताको बारेमा राम्रो भन्दा राजावादीहरूले हर्कत देखाएको सुनाए । चैत १५ गते अराजक आचरण देखाएको बताउँदै गर्दा लगानी सम्मेलनमा पुगेका दमक नगरपालिकाका मेयर राम थापाले सबैतिर घुमेर हेरे । प्रधानमन्त्रीको राजा विरोधी अभिव्यक्तिले थापालाई असहज बनायो ।
त्यस लगत्तै प्रधानमन्त्रीले विकास व्यापकता पाएको बताएका उनले हुलाकी राजमार्ग अन्तरगत कनकाई र कमला नदीको पुलको हबिगत स्मरण गराए । २०६८ असार २५ सम्झौता भएको कनकाई खोलाको पुल १४ वर्ष सम्म निर्माण सम्पन्न हुन सकेको छैन ।
२०७२ सम्म काम नै सुरु नभएको आयोजनाको मुख्य ठेकेदार कम्पनी पप्पु कन्स्ट्रक्सन भागेपछि जेभीमा रहेको महादेव खिम्ती सेवाले काम गरिरहेको छ । ३४ करोड लागतमा ७२५ मिटर लामो पुल बनाउन देखिएको समस्याले लगानी सम्मेलनमा प्रवेश पायो । मोरङ र झापालाई जोड्ने रतुवा खोलाको पुलपनि लामो समयदेखि निर्माणाधीन अवस्थामा छ ।
एउटा पुल बन्न डेढ दशक लागेको स्मरण गराएका प्रधानमन्त्रीले विराटनगरको विमानस्थल विस्तार गर्ने बाचा गरे । निर्माण व्यवसायीको भुक्तानीमा समस्या झेलिरहेको सरकार मुआब्जा दिनुपर्ने योजना सार्वजनिक गरिरहेको छ । लामो समय जग्गा अधिग्रहण गरेरपनि विमानस्थल बनाउन नसकिरहेका बेला ओलीले बुढी खोलाको पुलमा एयरपोर्ट विस्तार गर्ने उद्घोष गरे ।
त्यतीमात्रै हैन कोशी नदीमा पानीजहाज ल्याउने र वीरपुरमा स्टेसन बनाउने योजना अगाडी सारे । कोशी र गण्डकीमा पानीजहाज ल्याउने योजना अगाडी सरेको बताउँदै उनले विकास निर्माण व्यापक रूपमा भइरहेको सुनाए ।
भारतको बथनाहबाट विराटनगर सम्म दोहोरिएर रेल नआएको देखेका उद्योगीलाई प्रधानमन्त्रीले कलकत्ता सम्म जल यातायातको आश्वासन दिए । बथनाह देखी कटहरी सम्म रेलमार्ग निर्माण हुन नसक्दा आयात मूल्य बढेको उद्योगी व्यवसायीले बताइरहेका छन् ।
त्यससँगै कोशी प्रदेशले जिडिपीमा ३६ प्रतिशत योगदान गरेको बताएका प्रधानमन्त्री ओली तथ्याङ्क बिर्सिए । ओलीले दिएको तथ्याङ्क बाग्मती प्रदेश सँग मिल्दोजुल्दो देखिन्छ । कोशी प्रदेशले १५.८ प्रतिशत जिडिपीमा योगदान गर्दा बाग्मतीले ३६.३६ प्रतिशत योगदान गरेको छ ।
लगानी सम्मेलनमा १ खर्ब ७३ अर्ब ४९ करोडका ७१ वटा आयोजना सोकेस गरिए पनि ४६ आयोजनामा सम्झौता भएको छ । विगतमा सङ्घीय सरकारले आयोजना गर्ने गरेका लगानी सम्मेलन र पर्यटन वर्ष जस्ता कार्यक्रम यस पटक कोशी प्रदेश सरकारले गरिरहेको छ ।
दुवै कार्यक्रम मार्फत कोशी प्रदेशको आर्थिक विकासलाई जोड दिइएको छ । सङ्घीयता पछि प्रदेश सरकारले पर्यटन र लगानी सँग सम्बन्धित वृहत् कार्यक्रम पहिलो पटक कोशी प्रदेशमा आयोजना भएको हो । सम्मेलनले कोशी प्रदेशको पर्यटन, कृषि, जलविद्युत र सूचना प्रविधिमा व्यापक परिवर्तन हुने सरकारले विश्वास लिएको छ ।